काठमाडौँ, साउन ९ : ललितपुरका मुख्य सडक चोक जावलाखेल, पुलचोक दमकलचोक, एकान्तकुना, भैँसेपाटीमा खटिने ट्राफिक प्रहरीलाई आजभोलि आराम मिलेको छ । सिंहदरबार–ललितपुरस्थित मन्त्रीनिवासमा मन्त्री तथा विशिष्ट व्यक्तिको दैनिक ओहोरदोहोर र अन्य सवारीको चाप व्यवस्थापनमा खटिनुपर्ने ट्राफिक प्रहरीको बोझ ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले हटाइदिएको छ ।
कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको हो । ललितपुर महानगर सुरक्षा बल प्रमुख सीताराम हाछेथुका अनुसार मुख्य आठ स्थानमा जडान गरिएका स्मार्ट ट्राफिक लाइट सिस्टमलाई सवारीको चाप भएको दिशातर्फ हरियो र कम भएतर्फ रातो बल्ने गरी जडान गरिएको छ ।
‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानपछि सवारी दुर्घटनाको दरसमेत निकै कम भएको अनुभव सुनाउँदै हाछेथु भन्नुहुन्छ, “पहिला भिआइपी सवारी देख्नासाथ रातो होस् कि हरियो, उहाँहरूको सवारी खुलाउनै पथ्र्यो, तलमाथि भएमा जागिरकै डर हुन्थ्यो, अहिले सबै काम स्मार्ट ट्राफिक लाइटले गर्न थालेपछि मन्त्री र भिआइपीसमेत रातो बत्तीमा रोकिन थाल्नुभएको छ ।’’
हाछेथुका अनुसार स्मार्ट ट्राफिक लाइटमा बढीमा ३० देखि ४० सेकेन्डमा रातो बत्ती हरियो हुने भएका कारण पैदलयात्री र सवारीचालकलाई पट्यार नलाग्ने र आवतजावत निकै सहज हुने गरेको छ । ललितपुर महानगरपालिकाले यस वर्ष ग्वार्को, बल्खु, सातदोबाटोलगायतका थप तीन स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
यससँगै भेइकल डिटेक्टर मेसिन जडान गरी सडकमा सवारीसाधन सङ्ख्या गणना गरेर तत्काल सर्भरलाई जानकारी गराउने व्यवस्था छ । कार्यालय समयमा काठमाडौँतर्फका सवारीले ट्राफिक लाइटमा धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा भने बढीमा एक मिनेट पर्खिनुपर्ने गरी सञ्चालन गरिएको छ । स्वचालित लाइट परम्परागतभन्दा फरक र सजिलो रहेको र यसले भेइकल डिटेक्टर गरी सवारीसाधनको नम्बर तथा विवरण रिड गर्ने र कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैँ सेट गर्छ । यस्तो प्रविधि नेपालमा पहिलो रहेको ललितपुर महानगरको दाबी छ ।
