Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने : सार्वजनिक बिदामा पनि खुल्ने !


सूचना कुण्ड
धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने : सार्वजनिक बिदामा पनि  खुल्ने !

काठमाडौँ, असार २६ : पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको हुनाले हप्ताको सातै दिन दुई चरणमा सञ्चालन तयारी भइरहेको उहाँले बताउनुभयो । 

चार करोड राजस्व सङ्कलन

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । 

जेठ मसान्तसम्म सो राजस्व सङ्कलन भएको हो । विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । एकाइका नायब सुब्बा बाघसिंह ओलीले धरहरा सञ्चालन भएको यस अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार धरहरा अवलोकन गरेको यस 

सङ्ख्यामा १० वर्षमुनिका बालबालिकाको तथ्याङ्क समावेश गरिएको छैन । १० वर्षसम्मका बालबालिकासँग शुल्क नलिने गरिएकाले उनीहरूको तथ्याङ्क सङ्कलन हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रीपरिषद् बैठकले सशुल्क धरहरा खुला गर्ने निर्णय गरेको थियो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा ल्याइएको हो ।

उहाँले टिकट बिक्रीबाट सङ्कलन भएको रकम हरेक दिन सोझै सरकारको राजस्वमा जम्मा गर्ने गरिएको बताउनुभयो । टिकट बिक्रीबाट सङ्कलित रकमबाट कुनै शीर्षकमा खर्च कटाउने नगरिएको उहाँले स्पष्ट पार्नुभयो । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था गरिएको नायब सुब्बा ओलीले जानकारी दिनुभयो । 

उहाँले धरहरा चढ्न विदेशी पर्यटकसमेत आउने गरेको बताउनुभयो । उहाँका अनुसार सार्क मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपियाँ शुल्क तोकिएको छ । धरहराको बेसमेन्टमा सवारीसाधनको पार्किङबापत शुल्क लिने भनिए पनि अहिलेसम्म नलिएको उहाँले बताउनुभयो । अहिलेसम्म सर्वसाधारणले दुईपाङ्ग्रे र 

चारपाङ्ग्रे सवारीसाधन निःशुल्क पार्किङ सेवा लिँदै आएका छन् । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपियाँ, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा पाँच हजार रुपियाँ, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपियाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपियाँ तोकिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend