Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनसुनको विशेषता नै दिउँसोभन्दा राति धेरै वर्षा हुने हो


सूचना कुण्ड
मनसुनको विशेषता नै दिउँसोभन्दा राति धेरै वर्षा हुने हो

काठमाडौं , असार २१ : देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यता, राति भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

अर्थात् दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । दिउँसो भारी वर्षाको सम्भावना हुँदा राति धेरै भारी वर्षाको सम्भावना छ । 

भारी वर्षा भनेको ५० देखि १०० मिलिमिटरसम्मको वर्षा हो भने धेरै भारी वर्षा भनेको १०० देखि २०० मिलिमिटरसम्मको वर्षा हो । 

आज मात्रै होइन प्रायः मनसुन सुरु भएपछिको विभागको दैनिक बुलेटिन हेर्ने हो भने दिउँसो भन्दा राति धेरै पानी पर्ने गरेको देखिन्छ । 

“मनसुनको विशेषता नै दिउँसोभन्दा राति धेरै वर्षा हुने हो,” किन मनसुनमा दिउँसोभन्दा राति वर्षा हुन्छ भन्ने प्रश्नमा मौसमविद् डेविड ढकाल भन्छन्, “त्यसैले अहिलेको सिजनमा राति धेरै वर्षा हुनु नौलो होइन, सामान्य हो ।” 

अरब सागरबाट आएको जलवाष्पयुक्त हावा बेलुकाको समयमा बढी चिसिने र राति पानी धेरै पर्ने उनी बताउँछन् । बेलुकाको समयमा चिसो हुने जलवाष्प राति पानीमा परिणत हुने उनको भनाइ छ । 

यो समयमा पृथ्वीको सतहबाट बादल पनि नजिक अथवा तल हुने उनको भनाइ छ । “त्यसैले बादल तल हुने भएकाले मनसुनमा प्रिमनसुनमा भन्दा चड्याङ पनि कम पर्छ,” मौसमविद् ढकाल भन्छन् । 

‘लो प्रेसर सिस्टम’ मध्याह्नपछि बन्न सुरु हुन्छ । “लो प्रेसर सिस्टम सिस्टम बनेपछि हावा बढी बहन्छ । वायुमण्डलको प्रेसर कम हुन्छ र जलवाष्प आउने भएकाले राति पानी दिउँसोभन्दा धेरै पर्छ,” उनी प्रष्ट पार्छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend