Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मागअनुसार पुर्‍याउन नसक्ने भएकाले यसवर्ष लहान क्षेत्रमा उत्पादन हुने मालदह र बम्बइ प्रजातिको आँपलाई ब्राण्डिङ गरिएन


सूचना कुण्ड
मागअनुसार पुर्‍याउन नसक्ने भएकाले यसवर्ष लहान क्षेत्रमा उत्पादन हुने मालदह र बम्बइ प्रजातिको आँपलाई ब्राण्डिङ गरिएन

लहान, असार ४ :  फलको राजा भनेर चिनिएको आँप लहान नगरपालिकामा उत्पादन कम भएपछि यसवर्ष ब्राण्डिङ गरिएको छैन । 

लहान नगरपालिका कृषि शाखाका अनुसार   लहान क्षेत्रमा उत्पादन हुने मालदह र बम्बइ प्रजातिको आँपको मिठो स्वाद र रसदार समेत हुने भएकाले यसको माग बढी हुने गर्छ । लहानलाई आँपको राजधानी पनि भनिएको छ । 

एक वर्ष बिराएर फल्ने आँप गत वर्ष लटरम्म फलेकाले यसवर्ष गत वर्षको तुलनामा २० प्रतिशत फल मात्र लागेकाले मागअनुसार पुर्‍याउन नसक्ने भएकाले यसवर्ष ब्राण्डिङ नगरेको लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी गराउनुभयो । 

उहाँको अनुसार गत वर्ष लहान नगरपालिकाले लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने आँपका बगैंचाबाट मालदह र बम्बइ प्रजातिको ९० मेट्रिक टन आँप सरस्वती कृषि सहकारी संस्थाको पहलमा काठमाडौं, पोखरा, हेटौंडालगायतका सहरमा लहान लेखिएको कार्टुनमा आँप प्याकिङ गरेर बिक्री गरिएको थियो । सिरहामा दुई हजार पाँच सय हेक्टरमा उत्पादन हुने आँपमध्ये लहानमा मात्र पाँचसय हेक्टरमा आँप उत्पादन भइरहेको छ । 

राष्ट्रिय राजमार्गको उत्तरी भेगमा पर्ने सिरहाको लहान, धनगडीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाको चुरे क्षेत्रमा सुख्खा जमिनमा फल्ने आँप दक्षिणी भेगमा ओसिलो ठाउँमा फल्ने आँपभन्दा स्वादिलो र मिठो हुने गर्दछ । सप्तरीको सुरुङगामाइ नगरपालिकाको उत्तरी भेगमा पर्ने श्रीपुर क्षेत्रको आँप अति नै गुणस्तरीय हुने आँपको बिक्रीको लागि सङ्कलन हुने बजार पनि लहान नै हाे।

यस वर्ष गत वर्षको तुलनामा आँपको प्रतिकिलो २० देखि ३० रुपियाँ महँगो भए पनि फलेका २० प्रतिशत आँप पनि ठेकेदारहरुले ठेक्का लिएर आँपको बगैंचामा आँप फलाउने हर्मोनलगायत विभिन्न औषधीको प्रयोग भएकाले आँपको स्वाद नहुँदा लहान नगरपालिका कृषि शाखाले ब्रान्डिङ गरेको छैन । 

लहानमा बिक्री भइरहेको आँपमा स्वास्थ्यलाई असर हुने औषधी प्रयोग गरेर आँप पकाउन थालिएको गुनासो बढेपछि लहान नगरपालिका कृषि शाखाले सम्बन्धित निकायलाई साथमा लिएर आँप बजार अनुगमन गर्दा आँप पकाउने त्यस्तो हानिकारक औषधी प्रयोग गरिएको फेला नपरेको कृषि शाखाका प्रमुख साहले प्रष्ट्याउनुभयो । 

राष्ट्रिय राजमार्गसँग जोडिएको र चुरे क्षेत्रको वातावरण रहेको लहान, गोलबजार, धनगढीमाई, गोलबजार मिर्चैया र कर्जन्हा नगरपालिकाले ५० प्रतिशत अनुदानमा आँपको बिरुवा कृषकलाई वितरण गर्ने कार्यक्रम ल्याएपछि आँप खेतीको विस्तार भइरहेको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend