Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनाइँदै उँभौली पर्व     


सूचना कुण्ड
मनाइँदै उँभौली पर्व     

    
   सूचनाकुण्ड समाचारदाता,     

काठमाडौँ, वैशाख २२ः   
 प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।    
    
 बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।    
    
 वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन् ।    
    
 उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले सुनाउनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।    
    
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही व्यक्ति जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । उनीहरुले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । पूर्वी नेपालमा ब्राह्मण र क्षेत्री समुदायले पनि प्रकृति पूजाको कर्म भने गर्ने गरेका छन् ।    
    
    
किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend