सूचनाकुण्ड समाचारदाता,
काठमाडौँ, १९ वैशाख ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएको अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा उहाँका बीचमा स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकार मार्फत् थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गर्नुभएको भेटमा सहभागी नेपाल परिवार नियोजन सङघका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिनुभएको व्यवस्थापक डा केसीले बताउनुभयो ।
भेटमा महानिर्देशक डा बरमेजोले महासङ्घले अगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने जानकारी दिनुभएको थियो । भेटमा नेपाल परिवार नियोजन सङघका अध्यक्ष हिमाल कसजु , महासङ्घका दक्षिण एशियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता , प्राविधिक सल्लाहकार डा हरजोत खोसा सो भेटमा सहभागि हुनुहुन्थ्यो ।
महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो । महासङ्घमा विश्वका १८९ देशका परिवार नियोजन सङ्घ आवद्ध छन् । नेपाल परिवार नियोजन सङघले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरीब, सीमान्तीकृत, सामाजिक रूपले वहिष्कृत, अल्पसंख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घ मार्फत लगानी गर्दै आएको छ ।
हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका ३०१ पालिकामा रहेका क्लिनिक मार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।...
