Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल एसिया कपमा छनोट 


सूचना कुण्ड
नेपाल एसिया कपमा छनोट 

 

     नेपाल एसिया कपमा छनोट   
    सूचनाकुण्ड समाचारदाता,  

काठमाडौँ, वैशाख १९ :   
एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।    
    
 नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।    
    
 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा कुल एक सय १८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत खराब रह्यो । नेपालले आठ ओभर खेल्दा सुरुआती तीन विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।    
    
 सङ्कटमा परेको नेपालको पारी गुलसन झा र भीम सार्कीले उकासे । दुबै जनाबीच ९६ रनको साझेदारी रह्यो । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । यस्तै सार्कीले ७१ बल खेल्ने क्रममा चार चौका हाने ।    
    
 बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।     
    
 यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।    
    
 नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।    
    
 हिजो यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले हिजोको खेलको निरन्तरता आज भएको हो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend