Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने   


सूचना कुण्ड
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने   

     
    सूचनाकुण्ड समाचारदाता,   

काठमाडौँ, वैशाख १५ः   
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ ।    
    
महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो । महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घले पनि उक्त महासङ्घको सदस्यता प्राप्त गरेको छ । सङघले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।    
    
महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण हुन लागेको सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा बरमेजोकोे द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पाँचदिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च पदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्नुहुने कार्यतालिका रहेको छ ।    
    
यसैगरी भ्रमणको क्रममा उहाँले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनुहुनेछ । सोही क्रममा उहाँले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । महानिर्देशक डा बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुने जनाइएको छ ।    
    
मूलतः गरिब, सीमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ । हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पु¥याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ ।    
    
सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायका रहेका छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो ।    
    
यसैगरी, सङ्घले पछिल्लो समयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल तथा लेजर थेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । साथै, टेष्टयुब बेबी तथा बाँझोपन उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ ।    
    
महानिर्देशक डा बरमेजोको नेपाल भ्रमणले नेपालमा परिवार नियोजन सेवा तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा सङ्घले गरेको छ । महासचिवको भ्रमणले नेपालको दुर्गम क्षेत्रमा बसोबास गर्ने तथा सेवाको पहँुचबाट वञ्चित सेवाग्राहीमा सेवाको पहुँच बढाउन तथा उनीहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई स्थापित गर्नको लागि सहयोग पुग्ने अपेक्षा सङ्घले गरेको विज्ञप्तिमा उल्लेख छ ।    
    
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले नेपाल परिवार नियोजन सङ्घको स्थापना गर्नुभएको थियो ।    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend