Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता   


सूचना कुण्ड
‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता   

    
   सूचनाकुण्ड समाचारदाता, 

काठमाडौँ, वैशाख ९:    संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ ।    
    
राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास र नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न मुलुककमा यस्तो अन्तर्राष्ट्रिय गोष्ठी हुँदै आएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी देखिएका रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।    
    
पहिलो पटक शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१४ मा इटालीबाट सुुरु गरिएको थियो । नेपालले विश्वशान्ति स्थापनाका लागि गरेको प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ मातहतको सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।    
    
गोष्ठीमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयका साथै शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञसमेत गरी करिब तीन सय प्रतिनिधिको सहभागिता रहनेछ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ ।     
    
राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पु¥याइसकेका छन् । यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५७ सैनिक परिचालित छन् ।    
    
राष्ट्रसङ्घलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनको कार्यादेशलाई वर्तमान र भविष्यमा प्रभाकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा उक्त कार्यक्रम महत्वपूर्ण सावित हुनेछ ।    
यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा यस्तो कार्यक्रम भएको थियो ।    
    
विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो बरियतामा छ । विश्व शान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ताखाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि यो गोष्ठी महत्व पूर्ण रहने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ मुख्यालयका साथै करिब ५० भन्दाबढी राष्ट्रको प्रतिनिधित्व हुने नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । गोष्ठीमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ ।    
    
नेपाली सैनिकको शान्ति मिसनमा रही भएको योगदानका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत सराहना र प्रशंसा हुँदै आएको छ । कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे शान्ति मिसन, ग्लोबल सेवा केन्द्र र राष्ट्रसङ्घ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यकोसमेत अवसर प्रदान गर्नेछ । नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सहकार्य गरेको हो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend