Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सजन बाग श्रेष्ठ भन्नुहुन्छ : जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा छु   


सूचना कुण्ड
सजन बाग श्रेष्ठ भन्नुहुन्छ : जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा छु   

     
      सूचनाकुण्ड समाचारदाता,  
भक्तपुर, चैत२७  : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।    
    
 आज श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नाका साथै आजदेखि व्रत प्रारम्भ गर्नु भएको छ । श्रेष्ठले जात्राका नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, कर्मी नाय कृष्णचन्द्र बाग श्रेष्ठ, बुद्धिबहादुर खड्गी, श्यामकृष्ण खड्गीलाई चार दाम चढाएर सगुन दिई जात्रामा जिब्रो छेड्ने पक्का गर्नुभएको हो ।    
    
 नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएपछि चार दशक यो परिवारले जिब्रो छेडाउँदा पुस्तान्तरण भएको छ । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई पुस्तान्तरणका रुपमा अगाडि बढाउँदै हुनुहुन्छ ।    
    
 बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस गत वर्षसम्म नवौँ पटक जिब्रो छेडाए, मेरो दाजुले १२ पटक जिब्रो छेडाउनुभयो । यस वर्ष मेरो कान्छो छोराले जिब्रो छेडाउन आज चारदाम चढाएर पक्का गरेको छ, विश्व प्रसिद्ध यो जात्रा, यहाँको कला, संस्कृतिलाई अब मेरो छोराजस्ता अरू यहाँका युवा पुस्ताले जोगाउनुपर्छ । जात्रा लोप हुन दिनु हुँदैन ।”    
    
 आज चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने बोडे देश छाडेर बाहिर जान नहुने उहाँले बताउनुभयो । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि भने केही नखाई व्रत बस्नुपर्छ । जिब्रो छेड्न तयार भएका युवा सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रालाई जोगाउन आफूले यस वर्ष जिब्रो छेड्न तयार भएको बताउनुभयो ।    
    
 उहाँले भन्नुभयो, “बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखि नै जिब्रो छेड्न तयार थिए, यस वर्ष जु¥यो, मनमा डर छैन, २ गते कहिले आउँला र जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुमौँला भनेर प्रतीक्षामा छु ।” उहाँले युवाहरुले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरु तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको बताउनुभयो ।    
    
 छोरोको रहरका बारेमा बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरु तयार हुनुपर्छ ।”    
    
 जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नु अघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।    
    
 हालसम्म १२ जनाबाट निरन्तर एक सय आठ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरी नौ पटक, जुजुभाइ बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend