Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व  


सूचना कुण्ड
 लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व  

  

रुपन्देही, चैत्र २४: गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् । नेपाल, चीन, पाकिस्तान र श्रीलङ्काका धावकहरु सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बाग्लुङका तीर्थ पुनले जित्नुभएको छ । पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद रु पाँच लाख प्राप्त गर्नुभयो ।    
    
 सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गर्नुभयो । उहाँले नगद रु तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गर्नुभयो । उहाँले रु दुई लाख प्राप्त गर्नुभयो ।    
    
 प्रतियोगितामा अनिस थापा चौथो (रु एक लाख हजार), किरण बोगटी पाँचौँ (रु ८० हजार), सुशीलकुमार शाही छैटौँ (रु ६० हजार), होमलाल श्रेष्ठ सातौँ (रु ४० हजार), जुनेश खड्का आठौँ (रु २० हजार), राजन चौधरी नवौँ (रु १० हजार) र प्रकाश गैरेले दशौँ स्थान (रु पाँच हजार) हासिल गर्नुभयो ।     
    
 अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको छ । श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । त्यस्तै, नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान र एपिएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्ड लिँदै तेस्रो स्थान हासिल गर्नुभयो ।    
    
 विजेता श्रेष्ठले रु दुई लाख, न्यौपानेले रु एक लाख ६० हजार तथा भण्डारीले रु एक लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल हुनुभयो । छात्रतर्फ उमेश बरई प्रथम, सन्देश पाण्डे द्वितीय र आशिषकुमार क्षेत्रीले तृतीय स्थान हासिल गर्नुभयो ।    
    
 खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेशसिंह राउत तृतीय हुनुभयो । पाँच किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय हुनुभएको थियो । पाँच किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: जनही रु १५, रु १० र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।    
    
 नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हँुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवर्द्धन हुने उहाँको भनाइ छ ।    
    
 “यस पटकदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटीसँगै, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि हातेमालो गरेको हुँदा म्याराथनको गरीमासँगै प्रचार पनि भएको छ”, श्रेष्ठले भन्नुभयो ।    
    
 लुम्बिनी स्क्वायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्क्वायरमा आएर दौड टुङ्गिएको थियो । लुम्बिनीबाट भैरहवा एसओएससम्म र त्यहाँबाट पुनः लुम्बिनी पुगेर टुङ्गिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको रुट तय भएको थियो । ४२ दशमलव एक सय ९५ मिटर दूरीको म्याराथनको दूरी प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एसोसिएसन अफ इन्टरनेसनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरेको थियो ।    
    
 आइएएफ (इन्टरनेसनल एथलेटिक्स फोरम) र एम्सले संयुक्त रुपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा सूचीकृत भएको छ । लुम्बिनी म्याराथन प्रमाणीकरण भएसँगै नेपालमा अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको चारवटा म्याराथन भएका छन् । यसअघि काठमाडौँ म्याराथन, पोखरा म्याराथन र नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन् ।    
---   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend