Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति 


सूचना कुण्ड
 समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति 

   

चितवन, चैत१७ : राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याउनुभयो ।    
    
 राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उहाँको भनाइ थियो ।    

राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्याङ्कन गर्नुपर्नेबेला भएको बताउनुभयो । “सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती योजना अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले अब मूल्याङ्कन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् कि स्थानीय जनताको मेहनतबाट मात्र काम सम्पन्न भएका छन् ।”    
    
ठूलो त्याग, बलिदान र सङ्घर्षबाट हामीले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताउनुभयो । “सफल राजनीतिक आन्दोलनको कार्यभार पूरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहीँकतै द्विविधा हुनुहुँदैन”, उहाँले भन्नुभयो ।    
    
“म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा पनि भाग्दिन, अर्थात् देश विकास नै मेरो अभिष्ट तथा अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । यस अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन प्रेरित गर्ने उहाँको भनाइ थियो ।    
    
उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको राष्ट्रपति पौडेलको भनाइ थियो । “यस क्षेत्रको विकासका लागि यो पुल कोसेढुङ्गा सावित हुनसक्छ भन्ने मलाई लाग्छ, किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्ररुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालिग्राममार्गलाई कालीगण्डकी करिडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु”, उहाँले भन्नुभयो ।    
    
मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यस क्षेत्रका बासिन्दासँग भेटघाट गर्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले यहाँसम्म आइपुग्दा गर्नुपरेका सङ्घर्ष र अनेक अवरोध तपाईहरूबाट छिपेको छैन भन्नुभयो । उहाँले दामोदर कुण्डबाट बगेर आएको कृष्णा (कालीगण्डकी) र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीजस्ता पवित्र नदीको सङ्गम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा समेटेर यहाँको विकास गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।    
    
“ऋषिमुनिहरूले तपस्या गरेको यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वको स्थलको संरक्षण र संवद्र्धन गरी सरोकारवालाको सहयोगमा उत्कृष्ट धार्मिक तथा आध्यात्मिक केन्द्र बनाएर विश्वकै ध्यान यसतर्फ केन्द्रित गर्न जरुरी छ, देवघाट धाम, गण्डकी नदी, तीनका सहायक नदीहरू तथा यहाँका विविध क्षेत्रको महत्वबारे परिचित गराउन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले देवघाट क्षेत्र विकास समितिको स्थापनाकालदेखि नै यहाँको समग्र विकासमा आफूले ध्यान दिएको स्मरण गर्दै यसको थप विकासमा पनि सधैँ साथ रहने विश्वास दिलाउनुभयो ।    
    
राष्ट्रपति पौडेलले यति पवित्र भूमिमा वर्षौंदेखि एउटा झोलुङ्गे पुलको भरमा यस क्षेत्रका वासिन्दा र भक्तजनले आवतजावत गर्नुपर्ने कष्टकर अवस्थाकोे पुल निर्माणसँगै अन्त्य भएको बताउनुभयो । दशक लामो कठिन प्रयत्नपछि बन्दै भत्कँदै बनेको यो केवल एउटा पुल मात्र नभएर यस सेरोफेरोको कृषि, पर्यटन, व्यापार–व्यवसायलगायत विकासको बलियो जग खडा हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । “देशविदेशबाट चितवन आउने जोकोहीलाई भरतपुरबाट सहज पहुँचको मार्गप्रशस्त गरेको यस पुलले देवघाटधामको सर्वाङ्गीण विकासको ढोका खोलेको छ, दुई प्रदेश र दुई जिल्ला जोड्ने यो पुल यही क्षेत्र भएर जाने शालिग्राममार्गको प्रस्थान बिन्दु हो”, उहाँले भन्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend