Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल   


सूचना कुण्ड
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल   

    
 सूचनाकुण्ड समाचारदाता     

काठमाडौँ, चैत १८  :    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको छ । आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उहाँले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।    
    
 मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । “पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ”, उहाँले बताउनुभयो ।    
    
 मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । “त्यो प्रक्रिया अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग ‘¥यापिड एक्सन फोर्स’ जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु ।”    
    
 मिटरब्याज पीडितको समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पार्टी अध्यक्षको हैसियतमा रहेका बेला समेत मिटरब्याजीमाथि कारबाहीका लागि पहल गरेको बताउनुभयो ।    
    
 “म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ । तीनवटै सुरक्षा अङ्ग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह गरेको थिएँ । केही मान्छे त समातिए । त्यो बेला मिटरब्याजी भागाभाग पनि भए । तर यसको दिगो समाधान भने भएन । त्यो बेला अर्कै व्यक्ति प्रधानमन्त्री हुनुहुन्थ्यो । यो पटक म प्रधानमन्त्री छु । यसको दिगो समाधानमा मेरो ध्यान छ”, उहाँले भन्नुभयो ।    
    
 अहिले यो समस्या पूर्णरूपमा समाधान गर्न नसके यसले गम्भीर रूप लिने प्रधानमन्त्री दाहालको भनाइ थियो । “मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “अहिले यो समस्या समाधान नभए कहिल्यै हुन्न, त्यसैले यो समस्याको दीर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ ।”    
    
 मिटरब्याज पीडितले मार्च गर्दै राजधानी आएकामा समेत प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभयो । “तपाईहरू यसरी पैदल हिँडेर काठमाडौँ आउनुभयो । तपाईहरूको समस्या राष्ट्रियरूपमा सुनियो । अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाए । तपाईहरूलाई धन्यवाद छ”, उहाँले भन्नुभयो, “मैले जिल्लाबाट हिँडेदेखि नै तपाईंहरूका बारेमा जानकारी लिइरहेको छु । तपाईहरूलाई कहीँकतै अप्ठ्यारो नपर्न दिन गृहलाई निर्देशन पनि दिएको छु ।”    
    
 अहिले आफ्नै वर्ग र जनतासँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री दाहालले आफूले आश्वासन मात्र नदिएको स्पष्ट पार्नुभयो । “मलाई तपाईहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ । मैले आश्वासन मात्रै दिइरहेको छैन । यो समस्या हल हुन्छ । तपाईहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला”, उहाँले भन्नुभयो ।    
    
 प्रधानमन्त्री दाहालसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पुर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend