काठमाडौँ,चैत ५ : चन्द्रागिरि नगरपालिकाले सामुदायिक पशु व्यवस्थापन कार्यलाई अभियानका रुपमा सञ्चालन गरेकोे छ । यसक्रममा नगरपालिकाले शनिबार र आइतबार नगरका विभिन्न क्षेत्रबाट सत्रवटा छाडा बहरलाई नियन्त्रण गरेर व्यवस्थापन गरेको हो ।
नगरपालिकाले नगरपालिकाभित्र रहेका सामुदायिक छाडा जीवित/पशुहरु (गाई,बहर, बाच्छा, बाच्छी) र मृत पशु (कुकुर ) व्यवस्थापन गर्न तारकेश्वर –८ स्थित राष्ट्रिय युवा समाजसँग द्विपक्षीय सम्झौता गरेको छ । नगरपालिकाका पशुसेवा शाखाका प्रमुख बद्रीनाथ पौडेलले नगरपालिकाले नगरपालिकाभित्र रहेका सामुदायिक छाडा जीवित/पशुहरु (गाई,बहर, बाच्छा, बाच्छी) र मृत पशु (कुकुर ) व्यवस्थापन गर्न उच्च प्राथमिकता दिँदै काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चन्द्रागिरि नगरपालिका सामुदायिक छाडा जीवित÷पशुहरु (गाई,बहर, बाच्छा, बाच्छी) र मृत पशु (कुकुर ) मुक्त नगर बनाउने अभियानमा छौँ । यसक्रममा दुई दिनमा १४ बहर नियन्त्रणमा लिई व्यवस्थापन गरेका छौँ । ”
पशु सेवा शाखाले नगर क्षेत्रमा त्यस्ता सामुदायिक छाडा पशु तथा कुकुर देखिएमा आ आफ्ना वडाका जनप्रतिनिधिलाई खबर गरी व्यवस्थापनमा सहयोग पु¥याउन आग्रह गरेको छ । यसका लागि बमबहादुर तामाङ (९८५१३४३२२३) र रामबहादुर तामाङ (९८६११३१३५४) सम्पर्क गर्न पनि पशुसेवा कार्यालयले नगरवासीलाई अनुरोध गरेको छ ।
रेबिज रोगविरुद्धको खोप
नगर क्षेत्रमा यसवर्ष बृहत् खोप अभियानअन्तर्गत कार्यालय परिसर र नगरका १५ वटै वडामा पुगी करिव पाँचसय भन्दा बढी घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ । सोही क्रमममा गतवर्ष भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको थियो छ । सङ्घीय सरकारसित समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको पशुसेवा शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो । गत वर्ष स्थायी बन्ध्याकरण गरिएका एघारसय कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ (साङ्केतिक चिह्न) राखिएको थियो । बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ ।
नगर क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ । उहाँले टोलबस्तीमा पाल्तु कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप र बन्ध्याकरण अभियान थालिएको बताउनुभयो । गत वर्ष चन्द्रागिरि–१४ मा एकजनाको रेबिजका कारण मृत्यु समेत भएको थियो । “चन्द्रागिरिलाई रेबिज रोगविरुद्धमा पूर्ण खोपयुक्त नगरपालिका बनाउने योजना छ”, उहाँले भन्नुभयो, “खोप दिइएका कुकुर, बिरालोमा रोग प्रतिरोधी क्षमताका लागि खोप दिएको तीन महिना पूरा भएपछि बुस्टर डोज लगाउने गरी खोपकार्ड वितरण गरेका छौँ ।”
रेबिज रोग तातो रगत भएका स्तनधारी पशुपक्षीमा लाग्ने ‘लिस्सा’ भाइरसबाट हुने प्राणघातक रोग रहेको शाखा प्रमुख पौडेल बताउनुहुन्छ । खोप लगाउन सकिएमा यो रोगबाट बच्न सकिन्छ । यो रोग लागेको पशुले मानिसमा टोक्दा यसको भाइरस दिमाग वा गिदीमा पुगेपछि रोगको लक्षण देखिन सुरु हुन्छ । यसका अतिरिक्त रेबिज रोग नियन्त्रण गर्नका लागि नगरपालिकामा निरन्तर विद्यालयमा रेबिज रोग विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम साथै सबै टोलबस्तीका कुकुरमा खोप र बन्ध्याकरण कार्यक्रम जारी रहेको छ ।
–––
