काठमाडौँ, चैत ४ ः चन्द्रागिरि नगरपालिकाले आफ्ना १५ वटै वडा कार्यालयलाई विपद् पूर्व तयारीका लागि विपद् व्यवस्थापन सम्बन्धी आधारभूत सामग्री उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तय गरेका सामग्री उपलब्ध गराउने तयारी नगरपालिकाले थालेको छ । प्राविधिकरणले पनि विपद् व्यवस्थापनका लागि पूर्व तयारी गर्न आवश्यक सामग्री तयारी अवस्थामा राख्न सबै स्थानीय पालिकासमक्ष आग्रह गरेको छ ।
साथै नगरपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति तयारीलाई उत्तिकै महत्व दिँदै दिएको छ । यस अन्तर्गत नगरपालिकाले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसआइडी)का आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित स्वच्छ हावा कार्यक्रम अन्तर्गत आजदेखि तीनदिने वन डढेलोको थोकथाम तथा नियन्त्रण तालिम सुरुआत गरेको छ । डढेला नियन्त्रण गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरु तालिमका अवधिमा विषयविज्ञद्वारा जानकारी गराइने छ । नगर प्रहरी सहित विभिन्न वन उपभोक्ता समितिका पदाधिकारीहरु तालिममा सहभागिता रहेको छ ।
नगरप्रमुख घनश्याम गिरीले तालिमको शुभारम्भ गर्नुहँदै नगरपालिकाले विपद् जोखिम व्यवस्थापनमा उच्च प्राथमिकताका साथ योजना, जनशक्ति र वजेट तीनवटै क्षेत्रमा ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो“ विपद् व्यवस्थापनको पूर्व तयारीका लागि लागि आफ्ना १५ वटै वडामा आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागेको छ ।” फरक प्रशंगमा नगर प्रमुख गिरीले नगरको वन क्षेत्रमा वृक्षरोपण गर्दा नगदे वृक्षरोपण मात्र गर्नुपर्ने प्रावधान लागू गरेको जानकारी दिनुहुँदै यसलाई कठाइका साथ अनुगमन गरिने जानकारी दिनुभयो ।
उपप्रमुख बसन्ती श्रेष्ठले विपद् व्यवस्थापनका लागि क्षमता अभिवृद्धि पनि महत्वपूर्ण क्षेत्र भएकाले पहिलो पटक नगर प्रहरी सहित वन समूहका पदाधिकारीलाई विपद् व्यवस्थापन अन्तर्गत डढेलो रोकथाम तथा नियन्त्रण तालिममा सहभागी गराइएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारी गर्न सकिएमा डढेलो र आगलागीबाट हुने क्षतिलाई कम गर्न सकिने चर्चा गर्दै नगरपालिकाले विपद् पूर्व तयारीलाई पनि उत्तिकै महत्व दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डढेलो रोकथामका लागि तालिम र सामग्री आवश्यक वस्तु हुन् तर यी अन्तिम अस्त्र होइनन् , यसका लागि व्यक्तिगत रुपमा जनचेतना जगाउनुपर्छ । ”
नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सामुदायिक वन उपभोक्ता समूहलाई आय आर्जनसंग जोड्न आवश्यक रहेकामा जोड दिँदै मानवीय कारणले फैलिने डढेलोलाई रोकथाम गर्न जनचेतना जगाउन आवश्यक छ भन्नुभयो ।
वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सञ्जय सिग्देल काठमाडौ उपत्यकाको वातावरणलाई स्वच्छ राख्न वन जंगललाई संरक्षण गर्न थप चुनौती बन्दै गएको बताउनुभयो ।
डिभिजन वन कार्यालय का वन अधिकृत अशोक पराजुलीले चन्द्रागिरि नगरपालिकाका वडा १, २, ७ र ८ डढेलोको वढी जोखिम र संवदनशील रहेको जानकारी दिनुहुँदै डढेलोको थोकथामका लागि खटिने सामुदायिक वन उपभोक्ता समितिका सदस्यको बीमा गर्न आवश्यक रहेको बताउनुभयो । युएसआइडीका स्वच्छ हावा कार्यक्रमका संयोजक भोला भट्टराईले काठमाडौ उपत्यकाको वायुको गुणस्तर सुधार गर्न १३ वटा नगरपालिकामा स्वच्छ हावा कार्यक्रम सञ्चालनमा रहेका जानकारी दिनुहुँदै यसपालि हिउँदमा पानी कम परेकाले पनि सुक्खा बढी हुँदा प्रिमनसुनको सुरुआतमै डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ भन्नुभयो ।
उद्घाटन सत्रको सहजीकरण वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भद्रा अर्यालले गर्नुभएको थियो । नगरपालिका भित्र हाल २३ वन उपभोक्ता समूह क्रियाशील छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको छ । पछिल्ला दुई वर्ष डढेलो तुलनात्मकरूपमा कम भए पनि यो वर्ष बढ्न सक्ने जनाइएको छ । मानिसहरूमा कृषिकर्ममा कमी आएका कारण जङ्गलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र त्यसरी थुप्रिएर बसेको ‘फ्युल’मा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्ने खतरा बढेको बताइन्छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ ।
–––
