Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र


सूचना कुण्ड
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र

ढोरपाटन (बागलुङ), चैत ३ : आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ ।    
    
किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई प्रोत्साहन गर्न थालेको छ । किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।    
    
रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए । उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोड्दै गएका हुन् । परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थे । तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन् । खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ । स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले बजेट विनयोजन गरेको छ ।    
    
विगत वर्षहरुमा कृषकलाई परम्परागत बालीलाई उत्पादन गर्नका लागि बिउलगायत आवश्यक सहयोग गरेको ज्ञान केन्द्रले यस वर्ष प्याकेजिङ र बजारीकरण गरी दिने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । यसका लागि ज्ञान केन्द्रले रु १२ विनियोजन गरेको छ । सुरुआती चरणमा रैथाने बाली उत्पादनका लागि रु आठ लाख र बजारीकरणका लागि रु चार लाख बजेट छुट्याएको छ । ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको सूचना अधिकारी पुन मगर बताउनुहुन्छ ।    
    
“रैथाने बाली संरक्षणका लागि ज्ञान केन्द्रले कृषकलाई आकर्षित गर्ने खालको कार्यक्रम ल्याएको छ, पहिलाको जस्तो उत्पादन हुन छोडेको छ, गत वर्ष कोदोमा समस्या देखियो, त्यही भएर किसान निरास भए, धेरैजसो अहिले नगदेबालीतर्फ लागे, धेरै मेहनत गर्न नपर्ने खेती गर्न थाले”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गर्ने वस्तलाई प्याकेजिङ र बजारीकरणका लागि सहयोग गर्ने, कोदो, फापरको पीठो प्याकेजिङ गरेर बजारमा ल्याउने योजना बनाएका छौँ, यसले किसानलाई राहज पुग्ने अपेक्षा छ ।”    
    
काठेखोला गाउँपालिका–८ लेखानीका चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पाद गर्न थाल्नुभएको छ । गाउँमै उत्पादन हुने रैथाने बाली कोदोलाई ब्राण्डिङ गरी बिस्कुट बनाएर बजारमा ल्याइ राख्नुभएको छ । तर कोदो खेती धेरैले गर्न छोडेपछि पाउन मुस्किल पर्ने बताउनुभयो । बजारमा कोदोको बिस्कुटको माग बढ्दै गएको भन्दै पीड व्यवस्थापनमा समस्या पर्ने उहाँको भनाइ छ । गाउँका किसानले कोदोको सट्टा अन्य बाली खेती गर्दा कोदो नपाइने स्थिति आएको उहाँले बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “कोदोको बिस्कुट उत्पादन गरेर बजारमा ल्याएपछि माग निकै बढेको छ, देशको धेरै ठाउँबाट माग आएको छ, तर पु¥याउन सकिएको छैन, पहिला कोदो, फापर, जौँ प्रसस्त लगाउने गर्थे र त्यही खाने गर्थे, तर अहिले धेरैले खेती गर्न छोडे, खेती गर्नेले पनि कोदो रोप्दैनन्, अन्य बाली लगाउँछन् ।”    
    
बागलुङमा १८ हजार ४५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको ज्ञान केन्द्रले जनाएको छ । हरेक वर्ष २३ हजार ४५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेकोमा पछिल्लो समय घट्दै गएको छ । ज्ञान केन्द्रका अनुसार बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको छ । हरेक वर्ष १२० मेट्रिक टन फापर उत्पादन हुने गरेको तथ्याङ्क छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend