Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरिमा रेबिज बिरुद्धको खोप अभियान


सूचना कुण्ड
चन्द्रागिरिमा रेबिज बिरुद्धको खोप अभियान

 
काठमाडौँ,फागुन ३०  :  चन्द्रागिरि नगरपालिकाले रेबिज रोग रोकथामका लागि नगर क्षेत्रमा खोप अभियानलाई निरन्तरता दिँदै निजी तथा  सामुदायिक पशु व्यवस्थापनमा जोड दिएको छ ।    


नगर क्षेत्रमा  यसवर्ष बृहत् खोप अभियानअन्तर्गत पशुसेवा कार्यालय परिसर र  नगरका १५ वटै वडामा पुगी करिव पाँचसय भन्दा बढी घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ । सोही क्रमममा गतवर्ष  भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको थियो छ । सङ्घीय सरकारसित समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको नगरपालिकाका पशुसेवा शाखाका प्रमुख बद्रीनाथ पौडेलले जानकारी दिनुभयो ।  गत वर्ष स्थायी बन्ध्याकरण गरिएका एघारसय कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ (साङ्केतिक चिह्न)  राखिएको थियो  ।  बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ । 


नगर क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ । उहाँले टोलबस्तीमा पाल्तु कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप र बन्ध्याकरण अभियान थालिएको बताउनुभयो । गत वर्ष चन्द्रागिरि–१४ मा एकजनाको रेबिजका कारण मृत्यु समेत भएको थियो ।   “चन्द्रागिरिलाई रेबिज रोगविरुद्धमा पूर्ण खोपयुक्त नगरपालिका बनाउने योजना छ”, उहाँले भन्नुभयो, “खोप दिइएका कुकुर, बिरालोमा रोग प्रतिरोधी क्षमताका लागि खोप दिएको तीन महिना पूरा भएपछि बुस्टर डोज लगाउने गरी खोपकार्ड वितरण गरेका छौँ ।” 


रेबिज रोग तातो रगत भएका स्तनधारी पशुपक्षीमा लाग्ने ‘लिस्सा’ भाइरसबाट हुने प्राणघातक रोग रहेको शाखा प्रमुख पौडेल बताउनुहुन्छ । खोप लगाउन सकिएमा यो रोगबाट बच्न सकिन्छ । यो रोग लागेको पशुले मानिसमा टोक्दा यसको भाइरस दिमाग वा गिदीमा पुगेपछि रोगको लक्षण देखिन सुरु हुन्छ ।     
     
रेबिज रोगका जङ्गली र सहरी गरी दुई चक्र हुन्छन् । जङ्गली चक्रमा  स्याल, फ्याउरो, भ्याम्पायर, चमेरोमा हुन्छ । सहरी चक्र सहर गाउँबस्तीमा पालिएका कुकुर, बिरालो र स्तनधारी पशुमा हुन्छ । रेबिज लागेको जङ्गली स्याल, फ्याउरो र घरपालुवा सामुदायिक कुकुर, बिरालोको सम्पर्क भई टोकाइ भएमा यो रोग मानिसमा सर्ने गर्छ । यस्तो जोखिको अवस्थामा पाल्तु कुकुरको व्यवस्थापन र खोप कार्यक्रम गरेर रेबिजको भाइरसको सम्पर्क टुटाउन सक्नुपर्ने पशुचिकित्सकको भनाइ छ ।  शाखा प्रमुख पौडेलले भन्नुभयो, “सहरी र जङ्गली चक्रबीचको सम्पर्क टुटाउन नसकिएमा रेबिजको जोखिम रहिरहन्छ । ” नेपालमा बर्सेनि ६० देखि एक सय व्यक्ति र ४० देखि ५० हजार संख्याका गाईवस्तु रेबिजकै कारण मर्ने गरेको तथ्याङ्क छ ।” 


अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम नेपालमा सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ । पशु अधिकार र पशु कल्याणका दृष्टिमा कुकुरलाई मार्न नपाइने भएकाले मानवीय तवरबाट कुकुरको सङ्ख्या घटाउनका लागि यसको बन्ध्याकरण गर्नुपर्ने विश्वव्यापी अभ्यास छ ।  


यसका अतिरिक्त रेबिज रोग नियन्त्रण गर्नका लागि नगरपालिकामा निरन्तर विद्यालयमा रेबिज रोग विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम साथै सबै टोलबस्तीका कुकुरमा खोप र बन्ध्याकरण कार्यक्रम जारी रहेको छ । 


 विश्व स्वाथ्य सङ्गठनको तथ्याङ्कका अनुसार रेबिज रोगकै कारण विश्वमा बर्सेनि ६० हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा आधाभन्दा बढी पाँचदेखि १५ वर्ष उमेर समूहका बढी रहेको जनाइएको छ । रेबिज लागेको कुकुरसहित अन्य पशुबाट यो रोग लाग्न सक्ने भए पनि ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट लाग्ने गरेको तथ्याङ्क छ । 


नेपाल लगायत विकासोन्मुख मुलुकमा रेबिज लागेर बौलाएका कुकुर, बिराला, स्याल, फ्याउरोले टोकेका मानिसले त्यति वास्ता नगर्ने गरेको, चिकित्सको सल्लाह नलिने र खोप पनि नलाउने प्रवृत्ति रहँदा रेबिजको जोखिम रहेको बताइन्छ ।  रेबिज लागेको बौलाहा कुकुरलगायतका पशुले टोकेमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार खोप लगाउनुपर्छ । त्यस्ता पशुलाई पनि एन्टिरेबिज खोप लगाउनुपर्छ । 


यसैबीच नगरपालिकाले नगरपालिकाभित्र रहेका सामुदायिक छाडा जीवित÷पशुहरु (गाई,बहर, बाच्छा, बाच्छी) र मृत पशु (कुकुर ) व्यवस्थापन गर्न तारकेश्वर –८ स्थित राष्ट्रिय युवा समाजसँग द्विपक्षीय सम्झौता गरेको छ । पशु सेवा शाखाले नगर क्षेत्रमा त्यस्ता सामुदायिक छाडा पशु तथा कुकुर देखिएमा आ आफ्ना वडाका जनप्रतिनिधिलाई खबर गरी व्यवस्थापनमा सहयोग पु¥याउन  आग्रह गरेको छ ।         ––– 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend