Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार   


सूचना कुण्ड
भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार   

    
कर्णाली, फागुन २४: कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो । यसका लागि त्रिपक्षीय सम्झौता भएको छ ।    
    
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र स्थानीय तहबीच तालिम सञ्चालन गर्नेगरी बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रूपमा उपयोग गरी अगाडि बढ्ने बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “भ्ूाकम्पले दिएको शिक्षालाई जीवन व्यवहारमा लागू गरेर जानुको विकल्प छैन । गोरखा बारपाकको भूकम्पबाट शिक्षा लिन सकेको भए जाजरकोट भूकम्पबाट हामीले यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो ।” भूकम्पपश्चात खोज, उद्धार र राहतमा सरकारले लिएको पहलकदमी उल्लेख्य भए पनि पुनःनिर्माणको कार्यमा ढिलाइ भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।    
    
भूकम्प प्रभावित जिल्ला जाजरकोट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुमपश्चिम चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका गरी पाँच स्थानीय तहमा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र डकर्मीको तालिम सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।    
    
छेडागाड र चौरजहारी नगरपालिका, बारेकोट, त्रिवेणी र दार्मा गाउँपालिका प्रत्येक स्थानीय तहबाट बाह्र जनाका दरले डकर्मीका लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णुप्रसाद कोइरालले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिइनेछ । डकर्मीलाई दिइने तालिम २० दिनको हुनेछ ।    
    
प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम, र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिलाई भवन पुनःनिर्माणको विधि, भूकम्प प्रतिरोधी डिजाइनका सिद्धान्त र प्रतिरोधी अभ्यासको क्षमता विकाससम्बन्धी सीप सिकाइने निर्देशक कोइरालाले बताउनुभयो । तालिम सञ्चालनका लागि रु एक करोड ४६ लाख खर्च हुने जनाइएको छ ।    
    
तालिमबाट ६० दक्ष डकर्मी तयार हुनेछन् । भूकम्प प्रतिरोधी भवन निर्माणसंहितामा रहेर निर्माण गर्नेमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend