Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’


सूचना कुण्ड
‘रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’

भैरहवा (रुपन्देही), फागुन १९: परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताउनुभएको छ ।    
    
आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय रेडक्रस परिचालन गरेका छौँ र संयुक्तराष्ट्रसँग पनि मेरो लगातार कुरा भइरहेको छ ।”    
    
उहाँले अहिले रुसबाट फिर्ता ल्याउनका लागि दुई सय ४४ वटा उजुरी आफूकहाँ परेको बताउँदै त्यहाँ रहेकाहरूलाई फिर्ता ल्याउनका लागि आफू लगातार लागेको दोहोर्याउनुभयो । साथै त्यहाँ मारिएका नेपालीका आश्रित परिवारलाई क्षतिपूर्तिको रकम दिलाउने प्रयास पनि भइरहेको उहाँको भनाइ थियो ।    
    
फरक प्रसङ्गमा मन्त्री साउदले विप्रेषण आयबाट मात्र देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नसकिने बताउनुभयो । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वासको वातावरण बनाएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।    
    
कोभिडअघिकै अवस्थामा अर्थतन्त्र पुगे पनि लक्षित उपलब्धि हासिल नभएकाले अर्थ व्यवस्थामा विश्वास जगाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगीहरूसँग सहकार्य गरी अघि बढ्न सरकार दृढ रहेको उहाँको भनाइ थियो ।    
    
हाल उद्योग व्यवसाय औसत ३० प्रतिशतमा मात्र चलेको गुनासो गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुने वातावरण राज्यले बनाउनुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले लचिलो भएर व्यवसायीको मर्का बुझ्नुपर्नेमा जोड दिनुभयो ।    
    
उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न माग गर्नुभयो । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकहरु थाइल्याण्ड, श्रीलङ्का, भियतनाम, कोरिया, जापान, चीनबाट थप हवाई उडान सञ्चालन गर्न कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गर्नुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend