Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइको केन्द्र बन्दै ‘रत्नापार्क’  


सूचना कुण्ड
युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइको केन्द्र बन्दै ‘रत्नापार्क’  

काठमाडौँ, फागुन१६ ; कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नापार्कको परिचय अहिले फेरिएको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नापार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।    
    
रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउनुहुन्छ । “विद्यार्थी कार्ड देखाएपछि रु २० मा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन”, उहाँ भन्नुहुन्छ ।    
    
यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउनुहुन्छ । “घरमा कति बस्ने, पार्कभित्र बस्ने ठाउँ पनि छ, घाम ताप्न पनि पाइयो, रुखबिरुवाको स्वच्छ हावा पनि खान पाइन्छ, त्यसैले फुर्सद भएको बेलामा रत्नापार्क आउने गरेको छु”, उहाँ भन्नुहुन्छ ।    
    
यस्तै असनका सानुकाजी ताम्राकार पनि घाम ताप्न र दिन काट्नका लागि रत्नापार्कभित्र आएको बताउनुहुन्छ । माथिका केही प्रतिनिधिमूलक पात्रमात्र हुन् दैनिक हजारौँ व्यक्ति रत्नापार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् ।    
    
काठमाडौँ महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नापार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । काठमाडौँ महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।    
    
महानगरपालिकाले रत्नापार्कबाट हाल वार्षिक झण्डै रु एक करोड आम्दानी गर्दै आएको छ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क)का प्रमुख उमेश भण्डारी रत्नपार्कबाट चालु आवको फागुन १४ सम्म रु ५७ लाख ९१ हजार सात सय ६० शुल्क आम्दानी गरेको बताउनुहुन्छ ।    
    
रत्नापार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले रु २०, सर्वसाधारणले रु ३० शुल्क तिनुपर्ने हुन्छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु एक सय, विदेशी पर्यटक जाँदा रु एक सय, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु पाँच सय, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार पाँच सय र सांस्कृतिक पोशाक झल्काउन जानेले रु एक सय शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।    
    
चालु आवको साउनदेखि पुस मसान्तसम्म रत्नापार्कमा ४२ हजार छ सय ४२ विद्यार्थी, एक लाख २१ हजार तीन सय नौ सर्वसाधारण, तीन सय ३३ विदेशी पर्यटक, नौ म्युजिक भिडियो सुटिङ, तीन सय ८७ व्यावसायिक क्यामेरा, चार विवाह फोटो सुट र तीन सांस्कृतिक पोशाक झल्काउने व्यक्ति रत्नापार्कभित्र प्रवेश गरेका छन् ।    
    
शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क) का अनुसार साउन महिनामा ३० हजार एक सय ४६, भदौमा २७ हजार एक सय ४३, असोजमा २२ हजार दुई सय २९, कात्तिकमा १६ हजार दुई सय ४५, मङ्सिरमा १९ हजार आठ सय ५०, पुसमा २४ हजार एक सय ८९, माघमा २६ हजार १५ र फागुन १४ गतेसम्म १६ हजार एक सय ४१ जना प्रवेश गरेका छन् ।    
    
रत्नापार्कको सुरक्षाका लागि खटिनुभएकी नगर प्रहरी नायब निरीक्षक ज्योति पोखरेल रत्नापार्कभित्र दैनिक आठदेखि एक हजार दुई सय व्यक्ति घुम्न आउने गरेको बताउनुहुन्छ । “सार्वजनिक बिदाको दिनमा दैनिक तीनदेखि चार हजारसम्म रत्नापार्क घुम्न आउनुहुन्छ”, पोखरेल भन्नुहुन्छ ।    
    
रत्नापार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेको उहाँको भनाइ छ । रत्नापार्कभित्र बस्नका लागि सेट बक्स र कुर्चीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शङ्खधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क) ले जनाएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend