Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ 


सूचना कुण्ड
 भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ 

काठमाडौँ, फागुन १५ :वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिनुभयो ।    
    
त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सङ्गीतकर्मीले उहाँकै गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित सङ्गीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाउनुभएको थियो ।    
    
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । महामन्त्री थापाले गायक आचार्यको प्रस्थानसँगै साङ्गीतिक संसारमा एक युगको समापन भएको बताउनुभयो ।    
अर्का महामन्त्री शर्माले एउटा गायकले विगत ३० वर्षदेखि गीत गाउन नसक्नुको पीडा अन्यले महसुस गर्न नसक्ने बताउनुभयो । “एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”, महामन्त्री शर्माले भन्नुभयो।    
सङ्गीतकार तथा गायक टीका भण्डारीले नेपाली गीतसङ्गीतमा अपुरणीय क्षति भएको बताउनुभयो ।    
सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसङ्गीतमा भविष्य देखाउने र काठमाडौँसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताउनुभयो ।    
    
गायक हेमन्त शर्माले गायक आचार्यलाई युग गायकको रुपमा सम्झनुभयो ।  सङ्गीतकार वसन्त सापकोटाले भक्तराजको अवसानबाट एउटा इतिहासको समापन भएको बताउनुभयो ।   गायिका मिलन नेवाले उहाँको गीतले आफूलाई प्रेरणा प्राप्त भएको बताउनुभयो ।    
    
विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङगीतमा महत्वपूर्ण योगदान छ । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ ।    
    
भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend