Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु 


सूचना कुण्ड
 मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु 

   
   
कास्की, माघ  २९: मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।    
    
आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उहाँको भनाइ थियो ।    
    
पौडेलले भन्नुभयो, “सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ ।” मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।    
    
राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इञ्जिनियर पौडेलले बताउनुभयो । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ । यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो ।    
    
यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो ।    
    
गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा पृथ्वी राजमार्ग रहेको छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।    
    
एशियाली विकास बैंक(एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको हो ।    
    
पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय रहेको छ ।    
    
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।    
पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको काम विसं २०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend