सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, चैत ५ :
प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ पेस गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ पेस गर्नुभएको हो । यो विधेयक दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको हो ।
मन्त्री शर्माले सङ्क्रमणकालीन न्याय प्रक्रिया ढिलाइ भएको हुनाले छिटोभन्दा छिटो विषयलाई टुङ्ग्याउनका लागि संसद्मा विधेयक पेस गरिएको हो । उहाँले द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानविन गर्न जरुरी छ ।
विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइने उल्लेख विधेयक भएको उहाँको भनाइ थियो । मन्त्री शर्माले विधेयक सर्वोच्च अदालतको आदेश, कानुन र अन्तर्राष्ट्रिय मान्यताअनुसार नै विधेयक ल्याइएको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गर्नुभएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
त्यसैगरी, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई अघिल्लो बैठकमा गणपूरक सङ्ख्या नपुग्दा निर्णयार्थ प्रस्तुत गरिएको थिएन ।
बैठकको अन्त्यमा सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारीसमेत गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते सोमबार दिनको १ बजे बस्नेछ ।
–––
