Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बँदेलको आतङ्कले गाउँमा त्रास


सूचना कुण्ड
बँदेलको आतङ्कले गाउँमा त्रास

    
   
अछाम, माघ २१ : यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् ।    
    
 मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो । आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।    
    
 माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उहाँ सख्त घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो ।    
    
 बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो । नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय झुमा भण्डारीले बताउनुभयो ।    
    
 त्यसैगरी, मङ्गलसेन–७ को जनालीबण्डालीमा पनि बँदेलले आतङ्क मच्चाएको छ । माघ १६ गते राति ११ बजेको समयमा बँदेलको आक्रमणबाट दुईजना घाइते भएका थिए । गाउँमा बिहेको भोज खाएर फर्किने क्रममा वडा नं ७ का १५ वर्षीय नेत्र जनालालाई र उहाँका आफन्त १७ वर्षीय महेन्द्र उखेडालाई आक्रमण गर्दा दुवै जना घाइते हुनुभएको थियो । घाइतेमध्ये उखेडाको जिल्ला अस्पतालमा उपचार पश्चात् घर पठाइएको छभने अर्का घाइते जनालालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।    
    
 अहिले पनि गाउँको वरिपरि तीन÷चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन् । गाउँमा बँदेलले आतङ्क मच्चाएको गुनासो आउन थालेपछि बँदेल नियन्त्रणमा लिन प्राविधिक जनशक्ति अछाममा नभएकाले आवश्यक प्राविधिक टोली पठाउन प्रदेश वन निर्देशनालयलाई अनुरोध गरिएको डिभिजन वन कार्यालयका प्रमुख जनक उपाध्यायले बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend