भक्तपुर, माघ २१ : भक्तपुरको टौमढीमा आइतबार साँझ पहिलोपटक बोली प्रदर्शन भएको छ । पचास मिनेटमा ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाच र ५० वटा धाँबाजा एकैसाथ प्रस्तुत गर्दै बोली प्रदर्शनी गरिएको हो ।
कार्यक्रमका संयोजक बालकृष्ण बनमालाले भक्तपुरको कला, संस्कृतिका रूपमा रहेको बाजागाजालाई चाडपर्व, व्रतबन्ध, राजनीतिक सभा एवं कार्यक्रम उद्घाटनमा मात्र प्रस्तुत गर्ने प्रचलन चिर्न बोली प्रदर्शन गरिएको बताउनुभयो ।
पुराना बाजागाजा घर, टोल, पाटी र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको बताउँदै उहाँले बाजा चाडपर्व वा कुनै कार्यक्रम उद्घाटन गर्नका लागि मात्र सीमित नभई यसलाई जीवन्त कला र संस्कृतिको रूपमा पहिचान दिन भक्तपुरमै पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
बाजालाई सीपका रूपमा पनि बिकास गरेर लैजानुपर्ने भन्दै उहाँले यस्ता मौलिक बाजालाई जीवन्त राख्न नयाँ पुस्तालाई तालिम दिएर दक्ष बनाउन थालिएको बताउनुभयो ।
दौड प्रतियोगितामा कुँवर र बासुकला प्रथम
भक्तपुर नगरपालिका खेलकुद समितिले आज आयोजना गरेको दौड प्रतियोगितामा महिलातर्फ पुरूषतर्फ विश्वराम कुँवर र महिलातर्फ क्याथ्रिन बासुकला प्रथम हुनुभएको छ ।
भक्तपुर नगरपालिका क्षेत्रभित्र पाँच किलोमिटर लामो प्रतियोगितामा पुरुषतर्फ अम्मराज थापा द्वितीय र नमराज मैनाली तृतीय हुन सफल हुनुभएको छ भने महिलातर्फ पृथुजा गोर्खाली द्वितीय तथा जेसिका दुवाल तृतीय हुनुभएको छ ।
विजेता खेलाडीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्र्दै शिक्षालाई खेलकुदसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।
