Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय   


सूचना कुण्ड
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय   

    
  सूचनाकुण्ड समाचारदाता 

  काठमाडौँ, चैत ५ :    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ ।    
    
 सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिनुभएको हो । उहाँले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताउनुभयो ।    
    
 पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र भोलि चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देश गर्ने निर्णय भएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।    
    
 यसैगरी पार्टी सरकारमा सहभागी हुने निर्णय भएसँगै आज बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको लाइनमा रहने उहाँले जानकारी दिनुभयो । बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय यादवलाई बधाईसहित कार्यकाल सफलताको कामना दिने निर्णय गरेको छ ।    
    
 यसैगरी काठमाडौँमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप प्रतियोगिताका विजयी नेपाली खेलाडीलाई बधाई दिँदै आगामी खेलमा विजयका लागि शुभकामना दिने निर्णय पनि गरेको कांग्रेस प्रवक्ता डा महतले जानकारी दिनुभयो ।    
    

प्रधानमन्त्री दाहाललाई  कांग्रेसले  विश्वासको मत दिने  
       
नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।    
    
 कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उहाँले बताउनुभयो । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुने भएको छ ।    
    
 बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको आज बस्ने बैठकदेखि नै सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।    
    
 बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएकामा उहाँहरु दुवैलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ । बैठकले क्रिकेटको विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै आगामी दिनको सफलताका लागि कामना गरेको छ ।  –––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend