काठमाडौँ, माघ १८ ः चन्दन भराटेश्वर महादेव मन्दिर परिसरको गुरुयोजना सहित स्तरोन्नति हुने भएको छ । यसका लागि भारत सरकारबाट पहिलो चरणमा करिब पाँच करोड रुपैया सहयोग हुने जनाइएको छ । यसबाट चन्द्रागिरि नगरपालिकाको धार्मिक पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।
यसैबीच , चन्द्रागिरि ६ स्थित ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माण कार्य गर्न तथा पूर्वाधार विकास गर्न आज चन्द्रागिरि नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावास बीचमा त्रिपक्षीय सम्झौता भएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा , भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रम बीचमा सम्झौता (मेमोराण्डम अफ अण्डरस्टाइडिङ) मा हस्ताक्षर गर्नुभएको छ ।
चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाल लगायतका संरचना निर्माण गरिने सम्झौता पत्रमा उल्लेख छ। यी कार्य सम्पन्न गर्न चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित लागत रु ४,३६,९०,३९७ (रु चार करोड ३६ लाख नब्बेहजार तीनसय सन्तानब्बे हजार ) भारत सरकारले स्वीकृत गरी परियोजना कार्यान्वयनका लागि सम्झौता भएको जनाइएको छ ।
हस्ताक्षर समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु सहितको सहभागीता रहेको थियो ।
