Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरिद्वारा सहकारीको क्षमता विकास गर्न प्रशिक्षण सामग्री जारी  


सूचना कुण्ड
चन्द्रागिरिद्वारा सहकारीको क्षमता विकास गर्न प्रशिक्षण सामग्री जारी  

  

काठमाडौँ, माघ१६  : नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुआत गरेको छ ।    
    
 हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्था छन् । प्रशिक्षणका लागि नगरपालिकाले ‘डिजिटल वेब’मा आधारित ‘प्लेट फर्म’ अर्थात् विद्युतीय प्रशिक्षण स्रोत सामग्री तयार गरी कार्यान्वयनमा ल्याएको हो । नगरपालिकाले प्रशिक्षण सामग्री सहकारी संस्थाका कार्यसमिति, व्यवस्थापक तथा अध्ययन गर्न चाहने अन्य सदस्यलाई उपलब्ध गराएको छ । सामग्रीभित्र सहकारी सञ्चालन, कर, नेतृत्व विकास, संस्थागत सुशासनलगायत ४० विषयवस्तु रहेका छन् । सरकारका पूर्वसचिव, सहकारी क्षेत्रका उच्च व्यवस्थापक, प्राध्यापकलगायतले ती सामग्री तयार पार्नुभएको हो । ती सामग्रीको अवधि एक सय ५० घण्टा अवधिकोे छ । ती सामग्री प्रयोगकर्ताले आफ्ना ‘डिजिटल’ माध्यमबाट जुनसुकै समयमा पनि पढ्न, हेर्न र सुन्न सक्नेछन् ।    
    
 नगरपालिकाले हल तथा कोठाभित्र सञ्चालन हुने सहकारी सञ्चालनसम्बन्धी प्रशिक्षण तथा तालिमको विकल्पमा विद्युतीय प्रशिक्षण स्रोत सामग्रीलाई पहिलोपटक यस वर्षदेखि उपयोगमा ल्याएको हो । विद्युतीय प्रशिक्षण स्रोत सामग्रीका बारेमा सहकारी संस्थाका प्रतिनिधिलाई जानकारी दिन यहाँ आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो, “आर्थिक समृद्धिको आधार सहकारीलाई थप प्रवद्र्धन गर्ने र यस क्षेत्रमा जोखिम तथा समस्या आउन नदिने नगरपालिकाले नीति लिएको छ, कतिपय अवस्थामा कानुनी ज्ञान, क्षमता तथा व्यवस्थापकीय आदि पक्षबाट पनि समस्या आउन सक्दछन् । यस्ता समस्यालाई समयमै स्वयंले समाधान गर्न सकून् भन्ने ध्येयले विद्युतीय स्रोत प्रशिक्षण सामग्री कार्यान्वयनमा ल्याएका हौँ । यसबाट सहकारीको क्षमता विकास हुनेछ ।”    
    
 नगरपालिकाले सहकारी संस्थालाई आफ्नो ‘श्वेतपत्र’ जारी गर्न तथा सहकारीका नेतृत्वमा रहेकाको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । उहाँले भन्नुभयो, “नियममा बसेर सञ्चालन भएका सहकारीमा जोखिम तथा समस्या आउँदैन । सहकारीका नेतृत्व, व्यवस्थापकीय थप विकास गर्न यो प्रशिक्षण सामग्रीले कोसेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।”    
    
 नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न विद्युतीय स्रोत प्रशिक्षण सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विषयवस्तु, ज्ञानमा आधारित डिजिटल प्लेट फर्ममा रहेका सामग्री पढेर कार्यान्वयन भयो भने सहकारीमा समस्या आउन दिँदैन भन्ने मैले विश्वास लिएको छु । सामग्री अध्ययन गर्नुप¥यो ।”    
    
 कार्यक्रममा शाखा प्रमुख खड्काले एक वर्षमा विद्युतीय स्रोत प्रशिक्षण सामग्री उच्चतम उपयोग गर्ने तीन सहकारीलाई पुरस्कृत गरिने जानकारी दिनुभयो । सोही अवसरमा सहभागी सहकारीका संस्थाका प्रतिनिधिले सोधेका प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “विद्युतीय स्रोत प्रशिक्षण सामग्रीलाई सुधार गर्न सकिन्छ, तपाईंहरुले हामीलाई यस किसिमको सामग्री आवश्यक पर्छ भन्नुहोस्, त्यही किसिमको उपलब्ध गराउँछौँ ।” सो प्लेट फर्ममा सहकारी संस्था बीचमा अनुभव आदानप्रदान गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend