Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 जन्मजात नबोल्ने भोजपुरका कौशिका र दालाक्पाले देखाए प्रतिभा 


सूचना कुण्ड
 जन्मजात नबोल्ने भोजपुरका कौशिका र दालाक्पाले देखाए प्रतिभा 

सूचनाकुण्ड समाचारदाता, 

भोजपुर, माघ १५: इच्छाशक्ति भएमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई श्रवण क्षमता कम भएका बालबालिका बनेका छन् । उहाँहरु जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । प्राकृतिकरुपमा श्रवण क्षमता नभए पनि उनीहरुको जोश जाँगर अरुकोभन्दा कम छैन ।    
    
 सदरमुकाममा सञ्चालनमा रहेको भोजपुर बहिरा आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत नौ वर्षीया कौशिका ल्वागुन र ११ वर्षका दालाक्पा शेर्पा आफ्नो प्रतिभा पहिचानका लागि अहिले पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता र भोजपुर गट ट्यालेन्ट गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धामा हुनुहुन्छ । अरुले भनेको र बोलेको सुन्न नसक्ने उहाँहरु विद्यालयमा कार्यरत विशेष शिक्षक सन्तकुमार तुम्वापोको हौसलाले प्रतिस्पर्धामा उत्रिनुभएको हो ।    
    
 “सुनाइसम्बन्धी अपाङ्गता भएका कौशिका र दालाक्पाको कला देखेर हामी सबै हर्षित छौँ, उहाँहरुको सङ्घर्ष र लगनशीलताले नयाँ पाठ सिकाएको छ”, शिक्षक तुम्बापोले भन्नुभयो, “समाजमा लुकेका अन्य व्यक्तिलाई पनि यी दुई बालबालिकाको प्रतिभाले हौसला दिलाएको छ, मेरो पनि सुनाइमा समस्या छ, गीतहरु पटकपटक अभ्यास गर्छु, अनिमात्र गीत कण्ठ हुन्छ, कार्यक्रममा बजेको गीतको शब्द त्यति बुझ्दिन, तर साङ्केतिक नम्बर र साङ्केतिक सूत्रले ‘स्टेप’ मिलाउने गर्छु ।”    
    
 भोजपुरको षडानन्द नगरपालिका घर भएकी कौशिका भोजपुर गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत भएको प्रि फाइनल चरणबाट फाइनलमा प्रवेश गरिसक्नुभएको छ भने दालाक्पा पनि पूर्वाञ्चल गट ट्यालेन्टका लागि फाइनल प्रवेश गर्नुभएको छ ।    
    
 “शिक्षकले गराएको अभ्यास र इसाराले यहाँसम्म आइपुग्नु बालबालिकाको प्रतिभा हो”, भोजपुर डान्स क्रुका सञ्चालक सुशन घिमिरेले भन्नुभयो, “प्रतियोगितामा अन्य प्रतिस्पर्धीभन्दा दुई बालबालिकाको कला उत्कृष्ट देखिएको थियो ।” जन्मजात नै बोल्न र सुन्न नसक्ने उहाँहरु विद्यालयमा पनि पढाइका अलावा अन्य क्रियाकलापमा सक्रिय रहेको विद्यालयले जनाएको छ ।    
    
 जो बोल्न र सुन्न सक्दैनन् उनीहरुलाई नाच सिकाएर प्रतिभाशाली बनाउने शिक्षक शन्तकुमार पनि जिल्लामा नमूना बन्नुभएको छ । कार्यक्रममा गीत बज्न थालेपछि उहाँको इशारामा कौशिका र दालाक्पाले आफनो प्रतिभा देखाउने गर्नुभएको छ ।    
    
 विद्यालयमा अध्ययनरत दुई बालबालिकाले पछिल्लो समयमा देखाएको प्रतिभालाई विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकमा हौसला बढाएको विद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो । “विद्यालयमा अध्ययनरत कौशिका र दालाक्पाको सबैतिर चर्चा छ, उहाँहरुलाई हौसला दिनका लागि आगामी दिनमा सबैको सहयोग आवश्यक छ”, प्रधानाध्यापक तामाङले भन्नुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend