Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जलविद्युत् आयोजनाको मेसिन बन्द हुँदा जल्दै गरेको शव बगायो 


सूचना कुण्ड
जलविद्युत् आयोजनाको मेसिन बन्द हुँदा जल्दै गरेको शव बगायो 

        
  सूचनाकुण्ड समाचारदाता,
सोलुखुम्बु, माघ१४ : लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासी बन्द भएर खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको छ ।    
    
 सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने उक्त आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै फर्किदा आज लिखु खोलामा जलाउँदै गरेको रामेछापको उमाकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।    
    
 रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासी रोकिएर पानी खोलातर्फ नै फर्किदा उमाकुञ्ड गाउँपालिका–१ बाल्दिङ स्थित खोलामा जलाउँदै गरेको शव बगाएको हो ।    
    
 उहाँले भन्नुभयो, “हामीलाई प्राप्त जानकारीअनुसार मेसिन ट्रिप खाएर, बाँधको पानी खोलातर्फ फर्किदा खोलामा जलाउँदै गरेको शव बगाएर बेपत्ता भएको रहेछ, यस विषयमा हामी अनुसन्धान गर्दै छौँ ।” उहाँले घटनास्थल टाढा भएकाले जिल्लाबाट खटिएका प्रहरी पुग्न बाँकी रहेको बताउनुभयो । सोलुको किन्जा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो ।    
    
 आधा जलिसकेको शव खोलाले बगाएर बेपत्ता बनाएको छ भने मलामीले भागेर ज्यान जोगाएको लिखुपिकेका राजेन्द्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजनाको लापरबाही हो, मलामी गएका केही मानिस पनि सम्पर्कमा आएका छैनन्, यो विषयमा हामी जानकारी लिँदैछौँ ।” घटनास्थल रामेछापमा पर्ने भए पनि सोलुखुम्बुको सिमाना भएकाले प्रहरी चौकी किन्जाबाट प्रहरी टोली खटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिनुभयो ।    
    
 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आयोजनाका सम्पर्क अधिकृत दीपक नेपालका अनुसार विद्युत् मेसिन एक्कासी बन्द भएर बाँधतर्फको पानी खोलामा नै फर्किदा उक्त घटना भएको हो । कूल ५५ मेगावाट क्षमताको सो आयोजनाले अहिले पानी पर्याप्त नहुँदा आठ मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको उहाँको भनाइ छ ।    
    
 सोलुखुम्बुको लिखु पिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमाना हुँदै बग्ने लिखु खोलामा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाको हेडवक्र्स सोलुखुम्बुमा पर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । एमभी दुगडद्वारा प्रवर्द्धित उक्त आयोजना ग्लोबल हाइड्रोपावर एशोसियट लिमिटेडले निर्माण गरेको हो ।    
--  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend