Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 कर्णालीमा १४ लाख भेडाबाख्रामा पिपिआर खोप अभियान 


सूचना कुण्ड
 कर्णालीमा १४ लाख भेडाबाख्रामा पिपिआर खोप अभियान 

   
सूचनाकुण्ड समाचारदाता
कर्णाली,  माघ१० : कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ ।    
    
 कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका–८ सुर्खेतस्थित कुमीकोटमा आज खोपकर्ता (भ्याक्सिनेटर) लाई खोप र भाइल दिएर अभियानको शुभारम्भ गर्नुभयो ।    
    
 मन्त्री शर्माले भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता बढाउन र किसानको व्यवसाय संरक्षण गरी उनीहरुको आयआर्जन सुनिश्चित गराउन अभियान थालिएको बताउनुभयो । “कर्णालीबाट निर्यात हुने खसीबोकाबाट यो प्रदेश आत्मनिर्भर छ”, उहाँले भन्नुभयो, “सुर्खेत, दैलेख र सल्यानबाट खसीबोका निर्यात हुने गर्दछ ।”    
    
 सन् २०३० सम्ममा भेडाबाख्रामा लाग्ने महामारी रोगको उन्मूलन गर्न तथा पशुधनलाई सुरक्षित गरी किसानको जीवनस्तर उकास्न सरकार लागि परेको मन्त्री शर्माको भनाइ थियो ।    
    
 प्रदेशस्थित पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले भेडाबाख्रामा यो सङ्क्रामक रोग महामारीका रुपमा नै रहेकाले त्यसबाट बचाउन अभियानको शुभारम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा मात्र तीन लाख भेडाबाख्रा छन् । कर्णालीभरि करिब १४ लाख ५० हजार बढी भेडाबाख्रा भएकाले सङ्घीय सरकारको सहयोगमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामार्फत पर्याप्त मात्रामा खोप उपलब्ध भइसकेको छ ।    
    
 निर्देशक पंगेनीले भन्नुभयो, “जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा पहिलो चरणमा माघमा र कालीकोट, जुम्ला, डोल्पा, मुगु तथा हुम्लामा चैतदेखि पिपिआर खोप लगाउँछौँ । यो खोप भेडाबाख्रामा एक पटक लगाइयो भने तीन वर्षसम्म सङ्क्रमण हुदैन । खोप नलगाएका पशुमा सङ्क्रमण भएमा ५० देखि ९० प्रतिशत मृत्यु हने सम्भावना रहन्छ ।” उहाँका अनुसार प्रत्येक पालिकाको पशु शाखामार्फत नियुक्त भएका भ्याक्सिनेटरले खोरमा पुगेर खोप लगाउने छन् ।    
    
 बराहताल–८ जयुपुरका बाख्रापालक कृषक जीतबहादुर शाहीले एक सय ६३ बाख्रा पालेको बताउँदै प्रति बाख्रा न्यूनतम रु १६ हजारदेखि अधिकतम् रु ४५ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिनुभयो । उहाँले सिँचाइ र घाँस उत्पादनमा सरकारले सहयोग गरे व्यवसाय अझ फस्टाउने बताउनुभयो ।    
    
 सोही वडाका देवीसरा मिजारले २४ बाख्रा पालन गरेको बताउँदै केही बाख्रा थप्ने योजना रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “यो व्यवसायबाट प्रशस्त आम्दानी भइरहेको छ । पशुमा रोग लागेर मर्ने अवस्था नआउने गरी सरकारले बेलाबेलामा यस्ता खालका अभियान सञ्चालन गरिरहनुपर्छ ।”    
    
 बराहताल कर्णालीकै सबैभन्दा बढी बाख्रापालन हुने ठाउँका रुपमा परिचित रहेको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend