Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रारामा पुगे ३९२ पाहुना चरा


सूचना कुण्ड
रारामा पुगे ३९२ पाहुना चरा

सूचनाकुण्ड समाचारदाता
मुगु , माघ ९: चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो ।    
    
 गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो । चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको सधँै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो ।    
    
 चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस एक सय १७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल तीन सय ९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताउनुभयो ।    
    
 उहाँका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार÷पाँच महिनाको रारा बसाइपछि फर्किन्छन् ।    
    
 पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । पाहुना चरा निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देख्न सकिन्छ ।    
    
 तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन् । चरा राति बास बस्न ताल नजिकका ढुङ्गेओढार र रूखमा आउने गरेका छन् । मङ्सिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरुङ्गी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताउनुभयो ।    
    
 प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । कुन वर्ष कति पहुना चरा आए भनेर निकुञ्जले चराको गणना गर्ने गर्दछ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend