Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मधेस प्रदेशः आज छैटौँ बलिदान दिवस  


सूचना कुण्ड
मधेस प्रदेशः आज छैटौँ बलिदान दिवस  

  
 सूचनाकुण्ड समाचारदाता
जनकपुरधाम, माघ ५: मधेस प्रदेशमा आज छैटाँै बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।    
    
 मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।    
    
 विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो ।    
    
 पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । सो आन्दोलनलाई मधेसवादीहरुले मधेस जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेसवादी दलहरुले दाबी गर्दै आएका छन् तर मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्याङ्क छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend