Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्न ताकेता 


सूचना कुण्ड
चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्न  ताकेता 

   
    सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, पुस२७ :  राजधानीको मुख्य प्रवेशद्वार मात्र नभई प्राचीन मानवबस्तीका रुपमा रहेको चन्द्रगिरि नगरपालिका–६ का जनप्रनितिधिहरु चन्दन भराटेश्वरको पुरातात्विकस्थल उत्खननका लागि विगत तीन वर्षदेखि ताकेता गरे पनि अहिलेसम्म ठोस प्रक्रिया अघि बढ्न सकेको छैन ।    
    
 तीन वर्षअघि यहाँको चन्दन भराटेश्वर मन्दिर परिसरको पार्वतीकुण्ड संरक्षणका लागि थप गहिरो बनाउने क्रममा ठूलो आकारको एउटा ढुुङ्गा भेटिएको थियो । साविकका ढुङ्गेधाराभन्दा केही फरक बनोटको ढुङ्गा भेटिएपछि जनप्रतिनिधिहरुले पुरातत्वविदलाई बोलाएका थिए ।    
    
 वडा नं ६ का अध्यक्ष सञ्जय सिग्देलका अनुसार धाराको आकारप्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरात्वविदहरुले लिच्छविकालिन समयमा निर्माण भएको हुनसक्ने अनुमान गरेका थिए । त्यसलाई प्रमाणित गर्न र थप खोजीका लागि पार्वतीकुण्ड र त्यसवरपरका स्थानमा थप उत्खनन र विशेष ढङ्गले अध्ययन अनुसन्धान गराउनु पर्ने सुझाव उनीहरुको थियो ।    
    
 यसका आधारमा वडा कार्यालयमार्फत पुरातत्व विभाग र गुठी संस्थानलाई पार्वतीकुण्ड र आसपासका क्षेत्रमा उत्खनन र संरक्षणका लागि पटक–पटक आग्रह गरिएको तर आजसम्म पनि काम सुरु नभएको वडाध्यक्ष सिग्देलको भनाइ छ । “सम्बद्ध निकायका पदाधिकारीहरुले उत्खननका लागि धेरै पटक मौखिक आश्वासन दिनुभयो तर आजसम्म कार्यान्वयनमा भएन”, उहाँले भन्नुभयो ।    
    
 पुरातात्विक र धार्मिक एतिहासिक महत्व बोकेको चन्दन भराटेश्वर मन्दिर परिसरमा धारासहित एक प्राचीन शिलालेख पनि फेला परेको थियो । “मन्दिरकै कुनै भाग जस्तो लाग्ने कलात्मक ढुङ्गाहरु पनि त्यहाँ भेटिएछन । त्यसैले सो क्षेत्रमा थप उत्खनन गर्न भनेका हौँ”, वडा अध्यक्ष सिग्देलले भन्नुभयो ।    
    
 गोपाल महिषपाल जस्ता एतिहासिक जातिहरुको थलो मानिने चन्द्रागिरि क्षेत्र काठमाडौँ उपत्यका दह भएको बेलामा समेत तटीय क्षेत्रका रुपमा रहेको अनुमान पुरातत्वविद्हरुको रहेको पनि सिग्देल बताउनुहुन्छ । मन्दिर र परिसर संरक्षणको जिम्मा पाएको गुठी संस्थानबाट पनि ठोस पहल नभएको वडाअध्यक्ष सिग्देलको भनाइ छ ।    
     
 चन्द्रागिरि नगरपालिकाका थानकोट, बलम्बु, किसिपिँढी, लुँकोट र मच्छेगाउँ प्राचीन मानववस्ती भएका स्थान मानिन्छन् । ती क्षेत्रमा उत्खनन गर्न सके थप ऐतिहासिक जानकारी हासिल हुन जाने वडाअध्यक्ष सिग्देलले बताउनुभयो ।    
    
 पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले चालु आर्थिक वर्षमा उत्खनन्का लागि बजेट बिनियोजन नभएको बताउनुभयो । चन्दन भराटेश्वर क्षेत्रबाहेक महाभारतकालीन पात्र वाणासुरले राज्य गरेको स्थान मानिने यस क्षेत्रमा नगरपालिकाले मर्मत र संरक्षण गर्दै आएको छ । अहिले पनि वाणासुरकालिन गुफाको उत्खनन पनि नगरपालिकाले आफ्नै बजेटबाट गरिरहेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend