सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, पुस १९: राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर आज बिहान काठमाडौँ आउनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।
संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर पुस २० गते नै स्वदेश फर्कनुहुनेछ ।
---
