Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली फेर्छु : प्रधानमन्त्री


सूचना कुण्ड
वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली फेर्छु : प्रधानमन्त्री

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, पुस १०: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली परिवर्तन गर्ने बताउनुभएको छ ।    
    
 आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक कार्यक्रमका क्रममा देशवासीका नाममा सम्बोधन क्रममा प्रधानमन्त्री दाहालले पुरातन शैलीको नीति तथा कार्यक्रमले नतिजा दिन नसकेको स्वीकार गर्दै अब नयाँ शैली अपनाइने बताउनुभएको हो ।    
    
 “बजेट निर्माणको परम्परागत तरिकाले एकातिर प्राथमिकताप्राप्त आयोजनामा बजेट विनियोजन हुन सकेन भने अर्कोतिर खर्चको सही आकलन पनि हुन सकेन, यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस वर्षदेखि नीति, योजना र बजेट निर्माणको परिपाटी फेरेर नयाँ तरिकाले जाने तयारीमा छु, हाम्रो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रणालीलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्दछ ।”    
    
 आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता यही फागुनमा सार्वजनिक गर्ने तयारी सरकारले गरिरहेको पनि उहाँले बताउनुभयो । बजेटको सिद्धान्त र प्राथमिकता समयमै सार्वजनिक गरेर त्यसमाथि जनप्रतिनिधि तथा आम नागरिकको सुझाव लिइने पनि उहाँको भनाइ छ ।    
    
 बजेट निर्माणको परम्परागत तरिका भत्काउने उद्घोष गर्नुहुँदै प्रधानमन्त्री दाहालले दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेगरी नीतिगत, संरचनागत र कानुनी सुधारका काम सरकारले गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । गत वर्षको तुलनामा उपभोक्ता मूल्यवृद्धि घटेको उहाँको भनाइ छ ।    
    
 विकास र समृद्धिको यात्रा सन्तोषजनक नभए पनि सरकारले अधिकतम प्रयास गरिरहेको पनि उहाँको भनाइ छ । आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा सफल भएको दाबी आफूले नगर्ने पनि दाहालले बताउनुभयो ।    
    
 “आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि, सरकार असफल त भएन, तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन, म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देश कति बन्यो भन्ने होइन, देश कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु, यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली फेरिन्छ ।”    
    
 केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने उद्घोष पनि प्रधानमन्त्री दाहालले गर्नुभएको छ । उहाँले भन्नुभयो, “केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नगएर नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास तथा सुशासनमा रहेका समस्या समाधानमा लाग्ने निष्कर्षमा छु, सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुनेछ, यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend