Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी 


सूचना कुण्ड
फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी 

   
सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, मङ्सिर २६ : सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।    
    
 भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक एक गोल गर्नुभएको थियो । पहिलो र दोस्रो गोल सांसद सापकोटाले,    
तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गर्नुभएको थियो । प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।    
    
 प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा हुनुहुन्थ्यो भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी हुनुहुुन्थ्यो ।    
    
 सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिनुभयो । “नेपालमा फुटसलको विकास भएको केही समय भयो, सानो ठाउँमा पनि फुटसलको अभ्यास गर्न सकिने भएकाले आफूहरु खेल प्रवद्र्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौँ”, उहाँले भन्नुभयो । राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उहाँले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताउनुभयो ।    
    
 राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवापुस्तालाई खेलकुदमा प्रोत्साहन मिलोस् भनेर आफूहरु मैदानमा उत्रिएका हौँ, खेलकुदमा बालबालिका र युवा आकर्षित भइदिए मेसी र रोनाल्डोका मात्रै नाम किन लिने, आफ्नै देशका प्रतिभावान् खेलाडीको नाम लिने अवस्था आओस्, हामी त्यस दिशातर्फ लाग्नुपर्छ ।”    
    
 उपसभामुख रानाले सदनमा दबाबमा कानुन निर्माणको काममा सधैँभर लाग्नुपर्ने अवस्थाबाट केही समय मुक्त हुन फुटसललगायत खेलमा संलग्न हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भलिबल र साइक्लिङमा आफ्नो रुचि भए पनि संसद् दिवसलाई रमाइलो तुल्याउन फुटसलमा सहभागी भएकी हुँ ।” प्रतियोगितामा पाँच महिलासहित कूल २२ फुटसल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend