Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 सोती घटना : २३ जनालाई जन्मकैद  


सूचना कुण्ड
 सोती घटना : २३ जनालाई जन्मकैद  

  
 सूचनाकुण्ड समाचारदाता  
त्रिवेणी (रुकुम पश्चिम), मङ्सिर २०  :: विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको फैसला भएको छ ।    
    
जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।    
    
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो ।    
    
कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।    
    
उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।    
    
भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।    
    
विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend