Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु


सूचना कुण्ड
 नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

    
सूचनाकुण्ड समाचारदाता       
झापा, १८ मङ्सिर : झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ ।    
    
 सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।    
    
 मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गर्नुभयो ।    
    
 बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल-भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताउनुभयो । उहाँले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।    
    
 नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।    
    
 झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देबराज अर्यालले बताउनुभयो । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने उहाँले बताउनुभयो ।    
    
 झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र आज मर्मत सम्भार सुरु भएको सतिघ्ट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।    
     
 नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न आजैदेखि प्राविधिक टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।     
    
 नेपाल–भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य हाल समेत भइरहेको छ । झापा जिल्लामा रहेको सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ । दशगजामा स्थानीयबासीले कतिपय स्थानमा घर निर्माण गरेका छन् भने अधिकांश अतिक्रमित स्थानमा खेतीपाती छ । केही स्थानमा सडक र कुलो पनि रहेको छ ।    
    
 हालसम्ममा झापाको सीमा क्षेत्रमा ३७ स्थानको अतिक्रमण हटाएर दशगजा खाली गरिएको छ भने बाँकी १८ स्थानमा हटाउन स्थानीयबासीलाई म्याद दिइएको छ । “केही स्थानमा घर बनाएर बसोबास समेत गरिएको पाइएको हुँदा हटाउन म्याद दिइएको हो”, गणपति अर्यालले भन्नुभयो, “दशगजामा सीमा स्तम्भको वारी ३० फिट र पारीतर्फ ३० फिट खाली गर्नुपर्ने दुवै देशबीचको सहमति छ । हामी नेपालतर्फको खाली गराउँछौं । भारतीय पक्षले उतातिरको खाली गराउँछन् ।”    
    
 सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।    
---  

कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै   

कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुदैछ ।    
    
यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।    
    
सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु हुने जानकारी दिनुभयो ।    
    
“सरकारले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दैछ ।” उहाँले भन्नुभयो, “विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ ।” कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य गर्नेछ ।    
    
त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिनुभयो ।    
    
“कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६  सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्ने छ ।” प्रहरी उपरीक्षक रावलले भन्नुभयो, “त्यसका लागि सरकारले नापी विभागबाट समेत एक जना प्रतिनिधि खटाएको छ ।”    
    
उहाँले विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत÷सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताउनुभयो । पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend