Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त 


सूचना कुण्ड
भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त 

   
    सूचनाकुण्ड समाचारदाता
त्रिवेणी (रुकुम पश्चिम), कात्तिक २३ : गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय वासिन्दा त्रिपालको साहारामा चिसो रात कटाउन बाध्य भएका छन् ।    
    
भूकम्पले घर पूर्णरुपमा क्षति पु¥याउदा शनिबारदेखि नै त्रिपाल साहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताउनुभयो । त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उहाँको गुनासो थियो ।    
    
 गत शुक्रबार गएको भूकम्पले आठबीसकोट नगरपालिकाकामा चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।    
नगरपालिकामा भएका जम्मा आठ हजार छ सय ३७ घरमध्ये चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो । भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ । सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन् । त्यस्तै स्थानीयस्तरमा उत्पादन हुने खाद्यन्नमा पनि ठूलो क्षती पुगेको छ ।    
    
घरमा राखिएको धान, गँहु र मकै पनि पुरिएर क्षति हुनाका साथै १४ वटा भैँसी, आठ वटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ । गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ ।    
––––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend