Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

    उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु   


सूचना कुण्ड
    उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु   

सूचनाकुण्ड समाचारदाता
कास्की, कात्तिक २३: उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ ।    
    
उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले  लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो ।    
    
यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिनुभएको थियो । बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।    
    
अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश गरिएको हो ।    
    
अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीलाई आग्रह गरेको छ ।    
    
रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो ।    
    
यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गर्नुभएको थियो ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend