Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट क्षति भएको थाप्लेको निरीक्षण  


सूचना कुण्ड
राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट क्षति भएको थाप्लेको निरीक्षण  

  
    
सूचनाकुण्ड समाचारदाता
जाजरकोट, कात्तिक  २१ ः राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते हुनुभएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेट्नु भएको छ । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उहाँले बिरामीको गुनासोसमेत सुन्नुभयो ।    
 सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयोे ।    
    
 यसैगरीे भेरी–३स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गर्नुभएका राष्ट्रति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताउनुभयो । ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उहाँले अवलोकन गर्नुभयो।    
 उपप्रधानमन्त्री पूर्णबहादुर खड्का तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पपीडितको उद्धार र उपचारमा लागिरहनुभएकाले अब समस्या समाधान हुँदै जाने र सरकारले सबै समस्या समाधान गर्ने राष्ट्रपति पौडेलले बताउनुभयो । 

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग   
: राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।    
    
राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।    
    
राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो, “तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।” सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराउनुभएको थियो ।    
    
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो । उहाँका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुहुनेछ ।    
    
राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।    
    
भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो ।    
---  

  
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend