सूचनाकुण्ड समाचारदाता
रुकुम पश्चिम कात्तिक २०ः रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन् ।
नगरपालिकाले आज भूकम्प प्रभावित क्षेत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो । मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको आठबीसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक प्रत्येक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ बस्नको लागि टेन्ट उपलब्ध गराएको हो । अन्य पूर्णरुपमा घर क्षति भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहाले जानकारी दिनुभयो ।
नगरपालिकाको प्रभावित क्षेत्रमा पुगेर आज ७० बोरा चामल, दुई क्वीन्टल दाल, नुन, तेल लगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाको ९, १० र १२ नम्बर वडाका केही ठाउँमा पीडितलाई राहत वितरण गर्न बाँकी रहेको छ ।
नगरपालिकाको ११ , १३ र १४ नम्बर वडाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । बाँकी रहेको क्षेत्रमा भोलि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा विभिन्न सङ्घ संस्थाबाट खाद्यान्न तथा राहत सामग्री आउने क्रम जारी छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको छ । रुकुम पश्चिममा भौतिक संरचनामा पु¥याएको क्षतिको विवरण भने अझै आइसकेको छैन ।
मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो
गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।
मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताउनुभयो ।
प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन्भने एक सय १० जना उपचाररत छन् ।
नौ सय १० घर पूर्ण क्षति
यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।
–––
