Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दुई दिनभित्र सबै भूकम्पपीडितले राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खड्का


सूचना कुण्ड
दुई दिनभित्र सबै भूकम्पपीडितले राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खड्का

    
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, कात्तिक१९ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।    
    
 आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।    
    
 उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण सुरू गरिने जानकारी दिनुभयो ।    
    
 “दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्नेगरी राहत सामग्री पठाएका छौँ, थप केही आउनेक्रम जारी छ”, उहाँले भन्नुभयो, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।” उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताउनुभयो । उहाँले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।    
    
 गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।    
    
 नलगाड नगरपालिका– ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताउनुभयो । “पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ”, उहाँले भन्नुभयो ।    
    
 उपप्रमुख सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend