Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने  


सूचना कुण्ड
भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने  

  
   सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, कात्तिक१९ : नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।    
     
 सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।    
    
 यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।    
पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने   

नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।    
    
 सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले जानकारी दिनुभयो ।    
    
 उहाँले राहत र पुनःस्थापनाका लागि छिमेकी एवं मित्रराष्ट्रबाट औपचारिक प्रस्तावमार्फत प्राप्त हुने सहयोग स्वीकार गरी धन्यवाद दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले दिने र सरकारी अस्पतालमा सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।    
    
 प्रभावित क्षेत्रमा हालका लागि अस्थायी आवासका लागि टहरा निर्माण गर्ने निर्णय बैठकले गरेको छ । “परम्परागत निर्माण विधि र विद्यमान खरिद ऐनबाट यो पुनःनिर्माण कार्य प्रभावकारीरुपमा सम्पन्न हुन सक्दैन, चुस्त र प्रभावकारी संरचनाबाट पुनःनिर्माण हुनुपर्छ भन्ने विषय मन्त्रिपरिषद्को बैठकमा उठेको छ, यसबारे गृहकार्य गरी कार्ययोजना बन्नेछ”, मन्त्री शर्माले भन्नुभयो, “भूकम्पपीडितका लागि घर बनाउन अनुदान दिने ढाँचाबारे पनि छलफल भएको छ, जसका लागि दिने हो, उनीहरुले अनुदान पाउनुपर्छ र आवासका लागि घर बनाइसकेपछि त्यहाँ मानिस नै बस्नुपर्छ, उपयोगविहीन हुनु हुँदैन ।”    
    
 खोज, उद्धार र राहतमा खटिने राष्ट्रसेवकलाई खाजा खर्च दिने निर्णयसमेत गरिएको छ । साथै बैठकले विपद्को यस घडीमा धैर्यधारण गर्न सबैमा आग्रह गरेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend