Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान 


सूचना कुण्ड
 प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान 

   
 सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, कात्तिक  १८: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ ।    
    
भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।    
    
उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा जानुभएको छ । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ ।    
    
प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाउनुभएको छ ।    
    
उहाँले घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिनुभएको छ । प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गर्नुभएको छ ।    
    
सो भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन् । भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    

      जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु   
     

 भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।    
    
 सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।    
    
 प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरीका बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् । त्यहाँ मानवीय क्षति भएको छैन ।    
    
 भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोटमा खटिएको छ । यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ । बाँकेस्थित न. ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ ।    
    
 यस्तै नेपाल एपिएफ अस्पताल बलम्बुबाट डा रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।    
    
 यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।    
    
 गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend