Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रामीडाडा भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु


सूचना कुण्ड
रामीडाडा भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु

 सूचनाकुण्ड समाचारदाता 
जाजरकोट, कात्तिक १८ :  गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।    
    
 उहाँका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताउनुभयो ।    
    
 जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उहाँको भनाइ छ ।    
    
 रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट रामीडाडालाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।    

 सानीभेरीमा पाँचको मृत्यु,    
 गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ ।    
जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।    
    
 भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।    
    
 जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षती भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend