सूचनाकुण्ड समाचारदाता
गण्डकी, कात्तिक १४: नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज बिहान अन्नपूर्ण आधार शिविर पुग्नुभएका उहाँले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताउनुभयो । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उहाँले उल्लेख गर्नुभयो ।
विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उहाँले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पु¥याइरहेको बताउनुभयो ।
धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उहाँले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गर्नुभएको थियो । महासचिव गुटेरेस भ्रमण दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहित आधार शिवर पुग्नुभएको थियो । पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्दछ । अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।
फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गर्नुभएको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको छ ।
धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ ।
---
