Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कोजाग्रत पूर्णिमा कांग्रेसको चियापान कार्यक्रम 


सूचना कुण्ड
कोजाग्रत पूर्णिमा कांग्रेसको चियापान कार्यक्रम 

   
   सूचनाकुण्ड समाचारदाता 
ललितपुर, कात्तिक११ : आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।     
    
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढु्ङ्गाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।    
    
चियापानमा प्रधानमन्त्री दाहालले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।    
    
“यो चियापान संस्कृति विपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ, यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि सङ्घर्षमा होमिएका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनमा केन्द्रित छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।    
    
त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको बताउनुभयो । “हामीमाथि प्रश्न उठेको होइन, प्रश्न उठाउने प्रयासमात्र भएको छ, त्यस्तो प्रयासलाई हामी उचित समयमा उचित जवाफ दिनेछौँ”, ओलीले भन्नुभयो ।    
    
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले जवाफ दिने समय नभएको भन्दै उचित समयमा जवाफ दिने बताउनुभयो । “अहिले जवाफ दिने समय होइन, हामी उचित समयमा उचित जवाफ दिने नै छौँ, अहिले प्रश्न उठाउनेहरूलाई उठाउन दिनोस्”, देउवाले भन्नुभयो ।    
    
कार्यक्रममा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेसले उच्च राजनीतिक संस्कार बसालेको बताउनुभयो । “चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, प्रतिस्पर्धालाई एक ठाउँमा राखेर आपसी सद्भावका लागि गरिएको यस्तो कार्यले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको छ”, सभापति लामिछानेले भन्नुभयो ।    
    
चियापानमा उपस्थित विशिष्ठ व्यक्तित्वहरू तथा सर्वसाधारणलाई पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले स्वागत अभिवादन गर्नुभएको थियो ।    
    
दिउँसो १ः०० बजेदेखि सुरु भएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ः०० बजेसम्म सञ्चालन भएको थियो । कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन गर्दै आइरहेको चियापान कोरोना महामारीका कारण विगतका केही वर्षहरूमा आयोजना हुनसकेको थिएन ।    
    
विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।    
    
उपत्यकाका विभिन्न अस्पतालहरूमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्ने अभिप्रायले चियापान समारोहको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा कांग्रेसका कार्यकर्तासहित शुभेच्छुकहरूले रक्तदानसमेत गर्नुभएको थियो ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend