सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, २१ माघ ः मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ ( आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईँ चारदिने भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा प्रथम नेपाली महासचिव चापागाईँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गर्नुभएको थियो । १ फेब्रुअरी २०२० देखि आइएफआरसीको सर्वाेच्च पद महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका चापागाईँले १ फेब्रुअरी २०२२ मा पहिलो नेपाल भ्रमण गर्नुभएको थियो ।
महासचिव चापागाईँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापि सहयोग निरन्तर जारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिका अवधि र पछाडि सङ्कटासन्न मानिसहरुका आवश्यकताहरु परिपूर्ति गर्ने एवं उनीहरुको जीवनस्तरमा सुधार ल्याउने किसिमका मानवीय सेवाका कार्यक्रम जारी छ ।”
यस्ता छन् भ्रमणका कार्यक्रम
भ्रमणका क्रममा महासचिव चापागाईँले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधि मण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिका बारेमा जानकारी लिनुहुने यहाँस्थित आइएफआरसले जनाएको छ ।
साथै भ्रमणका क्रममा उहाँ आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुने छ । आइएफआरसीले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडि’ हस्तान्तरण गरेको थियो । साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’सार्वजनिकीकरण कार्यक्रमलाई उहाँले विशेष सम्बोधन (कि नोट स्पिच) गर्नुहुने छ । भ्रमणका क्रममा उहाँले उच्च राजनीतिक नेतृत्वसंग समसामयिक विषयमा छलफल समेत गर्नुहुने छ ।
विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । विश्वका शक्तिशाली २९ देश सहभागि रहेको ‘स्पेशल गभर्निङ बोर्ड’ को ३ डिसेम्बर २०१९ मा बसेको बैठकले उहाँलाई सर्वसम्मत महासचिव पदमा चयन गरेको थियो ।
आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरण निरन्तर मानवीय सहायता पु¥याउने गर्दछ । विशेष गरी कोभिड–१९ बाट उत्पन्न विश्वव्यापि आर्थिक मन्दिका बाबाजुत पनि महासचिव चापागाईँले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पु¥याउन निर्वाह गर्नुभएको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाएको जनाइएको छ ।
आइएफआरसीको सचिवालय स्वीट्जरल्याण्डको जेनेभामा छ । उसले मानवीय हितका लागि करिब एक करोड ५० लाख स्वयंसेवकहरुलाई सङ्गठित गरी एक सय ९२ भन्दाबढी मुलुकमा स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापको सहयोग उपलब्घ गराउँछ ।
–––
